Harsamaya
कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ :  मन्त्री यादव
खानेपानी मन्त्री प्रदीप यादव ।

इलाम - खानेपानी मन्त्री प्रदीप यादवले इलामको कन्याम–पञ्चकन्या खानेपानी योजना निर्माणको काम चाँडो सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने बताएका छन्  ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, इलाम अन्तर्गत कन्याम–पञ्चकन्या खानेपानी योजना सम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले कन्याम–पञ्चकन्या खानेपानी योजनाको ७७ प्रतिशत काम सकिएको बताउँदै बाँकी रहेको काम तत्काल सक्न सम्बन्धित निर्माण व्यवसायीलाई आग्रह गरे ।

उनले भने, ‘कन्याम–पञ्चकन्या खानेपानी योजनाको समस्या समाधानका लागि म स्वयं यहाँ आएको छु । आज यहाँको समस्या समाधानको बाटो निकाल्नु पर्छ । कि ठेकेदारले काम गर्नु पर्छ, या त अब ठेक्का रद्द गर्नुपर्छ ।’

मन्त्री यादवले निर्माण व्यवसायीहरूले विभिन्न बाहना बनाएर खानेपानीको आयोजनाहरूमा काम ढिलो गर्ने र तोकिएको समयमा सम्पन्न नगर्ने गरेको गुनासो सुन्नमा आएकाले काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरिने बताए ।

उनले भने, ‘खानेपानी जस्तो अत्यावश्यक चिजलाई ढिला सुस्ती गर्ने कार्य किमार्थ स्वीकार्य छैन । खानेपानीको आयोजना तोकिएकै समयमा सम्पन्न गर्नु पर्छ । अब सहेर बसिँदैन, काम नगरे ठेक्का रद्द गर्छौँ ।’

यसै गरी उनले नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि निर्माणाधीन खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई उन्मुक्ति नदिने बताए ।

‘वर्षाद्को बेला आएको छ, बाढी आउँछ, केही घटना होला त्यसको जिम्मा कसले लिने । बाँकी रहेको यो खानेपानीको काम तत्काल सुरु गर्नुहोला । अधुरो छोडिएको पाइपलाईनको काम भोली बिहानबाट सुरु गर्नुस् ।’

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update