
काठमाडौं - संयुक्त जनआन्दोलन समितिले उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । संयोजक नवराज सुवेदीले प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शन स्थलबाट पक्राउ परेका कमल थापा लगायत नेताहरू रिहा भएपछि बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी दिए ।
सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरू रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी गराइन्छ ।’
काठमाडौंमा भएको प्रदर्शनबाट हिजो राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेताहरूलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि थापालाई भेट्न गएका राप्रपाका सांसद दीपक सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई नियन्त्रणमा लिएको विरोधमा नेताहरूले उपत्यका बन्द गर्ने घोषणा गरेका थिए ।