Harsamaya
मुस्ताङको घरपझोङमा साइकल तथा घोडा र्‍याली
हिमाली जिल्ला मुस्ताङमा पहिलोपटक भएको साइकल तथा घोडा र्‍याली।

जोमसोम - मुस्ताङको घरपझोङ गाउँपालिकाका धार्मिक, सांस्कृतिक एंव पर्यटकीय स्थलहरूमा साइकल तथा घोडा र्‍याली सम्पन्न भएको छ ।

‘घरपझोङको समृद्धि, कृषि, पर्यटन र संस्कृति’ भन्ने नारासहित शुक्रबार र्‍याली गरिएको हो । र्यालीमा नेपालका विभिन्न जिल्लाका करिब चार सय साइकल यात्री सहभागी रहेको आयोजक घरपझोङ गाउँपालिकाले जनाएको छ । त्यस्तै करिब २० वटा घोडा र्यालीमा सहभागी थिए ।

र्‍यालीका क्रममा यात्रीहरू विभिन्न धार्मिक, सांस्कृतिक तथा एतिहासिक ठाउँहरूमा पुगेका थिए । र्‍यालीमा सहभागीहरूका लागि ठाउँ-ठाउँमा स्वागत गरिएको थियो ।

सोमसोम बजारस्थित कबड हलको खेलमैदानबाट सुरू भएको र्‍याली ठिनी, ढुम्बा ताल, छैरो, चिमाङ, मार्फा, स्याङ गाउँ हुँदै जोमसोमस्थित गाउँपालिकाको कार्यालयमा पुगेर समापन भएको थियो ।

गाउँपालिकाले र्‍यालीपछि सहभागीलाई मायाको चिनोसहित सम्मान गरेको थियो । समापन कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरू, प्रदेशसभा सदस्य, प्रमुख जिल्ला अधिकारी, जोमसोमस्थित सरकारी कार्यालयका प्रमुखहरू, साइकल यात्रीहरू तथा स्थानीयको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले हिमाली जिल्ला मुस्ताङमा पहिलोपटक भएको यो र्‍यालीले यहाँको पर्यटन विकासमा थप टेवा पुग्ने बताए । उनले उपस्थित सबैलाई धन्यवाद दिए ।

त्यस्तै आगामी दिनमा मुस्ताङमा अझै व्यापक साइकल र्‍याली गर्ने अध्यक्ष लालचनको भनाइ थियो ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update