Harsamaya
एमसीसी परियोजनालाई अगाडि बढाउन प्रयास भइरहेको अमेरिकी राजदूतको भनाई
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन ।

काठमाडौं - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । 

उर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको उर्जा सहकार्य र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको हो । 

भेटमा उर्जामन्त्री खड्काले एमसीसी परियोजनामार्फत अगाडि बढाइएका आयोजनाको काम निरन्तर अगाडि बढिरहे पनि एमसीसी केही समयदेखि होल्ड भएकाले केही अन्यौलता सिर्जना गरेको बताए । उनले एमसीसी परियोजना निरन्तर अगाडि बढ्ने र उर्जा क्षेत्रमा अमेरिकाको थप सहयोग हुने विश्वास व्यक्त गरे । 

भेटमा अमेरिकी राजदूत थम्पसनले नेपालको उर्जा क्षेत्रमा अमेरिकाको निरन्तर साथ र सहयोग रहने बताए । एमसीसी परियोजनालाई अगाडि बढाउन हर सम्भव पहल र प्रयास भइरहेको उनको भनाई थियो । 

उनले अहिले एमसीसीअन्तर्गत अगाडि बढाइएका आयोजनालाई निरन्तर अगाडि बढाउन नेपाल सरकारको तर्फबाट गरिनुपर्ने सहयोगका लागि आग्रह गरे । 

एमसीसी अन्तर्गत सञ्चालित एमसीए परियोजनाका लागि अमेरिकाले ५०० मिलियन डलर र नेपालले १९७ मिलियन डलर खर्च गर्ने सम्झौता भएको थियो । उक्त परियोजना अन्तर्गत लप्सीफेदी–रातमाटे, रातमाटे–दमौली, दमौली–बुटवल र बुटवल– नेपाल–भारत सीमासम्म ९गोरखपुर० ४०० केभी प्रसारण लाइन र सम्बद्ध सव स्टेसनहरू निर्माण हुनेछ । 

भेटमा एमसीसी तथा एमसीएका प्रतिनिधि तथा मन्त्रालयका उच्च अधिकारीहरूको सहभागीता रहेको थियो ।
 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update