Harsamaya
भन्सार छलीका १३ लाख बराबरको अवैध औषधिसहित चालक र गाडी प्रहरी नियन्त्रणमा 
सांकेतिक तस्वीर: हर समय/Har Samaya

पर्सा - पर्सास्थित प्रहरी गस्ती टोलीले भन्सार छलीको विभिन्न औषधी, गाडीसहित मानिस पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा विन्दवासिनी गाउँपालिका-४ स्थित मधवल सडकखण्ड हुँदै भारतबाट भन्सार छली गरी ल्याइएका अवैध औषधिसहित गाडी र एकजना युवकलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ना.५ च २४८३ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा विभिन्न प्रकारका औषधिहरू अवैध रूपमा लोड गरिएको बरामद भएको छ। 

ती औषधिहरूको कुनैपनि भन्सार बिलबिजक नभेटिएपछि गाडीसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका चालक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ५ निवासी २४ वर्षीय सुनिल कुमार राम रहेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताएका छन्।

बरामद औषधिको अनुमानित मूल्य १२ लाख ७८ हजार ५२० रुपैयाँ बराबर रहेको एसपी मिश्रले जानकारी दिएका छन्। पक्राउ परेका व्यक्ति, पिकअप गाडी र बरामद औषधिहरू थप अनुसन्धान र कारबाहीकालागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update