Harsamaya
प्रतिनिधि सभा बैठक बस्दै, गृहमन्त्रीको राजीनामा माग्ने विपक्षी दलको तयारी
प्रतिनिधिसभा बैठक ।

काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बिहान ११:00  बजे बस्ने प्रतिनिधिसभाको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुने कार्यसूची रहेको छ ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१–८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूचीसमेत तय भएको छ । साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

यस्तै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ ।  

यता प्रतिपक्षी दलहरूले भने आजको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी गरेका छन् । भिजिट भिसा प्रकरणमा अनुसन्धान भइरहेकोले मन्त्री लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको अडान छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update