Harsamaya
ज्ञानेन्द्र शाहीको आक्रोश - सरकारको दिमागमा जाम लाग्यो कि, आँखामा रतन्धो लाग्यो, कि कानमा ढुसी पर्यो ?
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही ।

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीलाई राज्यले अन्याय मात्र नभइ अपराध नै गरेको दाबी गरेका छन् । यदि सरकारले कर्णालीलाई अलग बनाउँछ भने राज्य व्यवस्था बिना कर्णाली चलाएर देखाउने चेतावनी उनको थियो । 

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले हुम्ला जिल्लामा हिम पहिरो गएर जनताहरू मरिरहेको अवस्थामा सरकारले एउटा हेलिकोप्टर पनि पठाउन नसकेकोमा आक्रोश पोखे । उनले सरकारको दिमागमा जाम लाग्यो कि, आँखामा रतन्धो लाग्यो कि, कानमा ढुसी पर्यो कि, हेलिकोप्टरमा खिया लाग्यो कि भन्दै प्रश्न पनि गरे । 

उनले भने, ‘हुम्ला जिल्लामा हिमपहिरो गएको छ । तर अहिलेसम्म सरकारले उद्धार गरेको छैन । त्यसैले भन्न चाहन्छु–सरकारको दिमागमा जाम लाग्यो कि, आँखामा रतन्धो लाग्यो, कि कानमा ढुसी पर्यो कि, हेलिकोप्टरमा खिया लाग्यो ? मन्त्रीहरूको सवारी हुँदा हेलिकोप्टर घुमिरहेको छ । तर हुम्लामा हिम पहिरो गएर, हिमताल फुटेर जनताहरू रोइरहेका छन्, एउटा हेलिकोप्टर पठाउन सकेको छैन । सरकारले के कर्णालीलाई हेपेको हो ?’

यदि सरकारले राज्यबाट कर्णालीलाई अलग बनाउने हो भने आफैँ चलाएर देखाउने चेतावनी दिए । यस्तै, उनले जनता हिमपहिरो गएर अलपत्र परेको अवस्थामा सरकार सगरमाथा संवाद जस्तो नाटक बाजी गरिरहेको पनि बताए । 

उनले भने, ‘एउटा सामान्य राज्यमन्त्री जाँदा हेलिकोप्टर चढेर जानुहुन्छ तर त्यहाँको जनता हिम पहिरो गएर अलपत्र परेका छन् । कसैलाई वास्ता छैन । यस विषयमा सभामुखले रुलिङ गर्नुपर्छ, कर्णालीका जनता पनि जनता हुन् ।’
 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update