
काठमाडौं - संघीय संसदको दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दै छ । प्रतिनिधिसभाको बैठकमा गृह, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, भौतिक पूर्वाधार तथा यातायात र कृषि तथा पशुपक्षी विकास मन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ ।
यसै गरी आजको बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ लाई पारित गरियोस् भनी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ । पूर्वाधार विकास समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ ।
त्यस्तै राष्ट्रियसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ सभा समक्ष पेस गर्ने कार्यसूची छ । यसै गरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र युवा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिने पनि कार्यसूची रहेको छ ।