Harsamaya

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण आन्दोलनमार्फत नै एजेण्डा स्थापित गरेर छाड्ने बताएका छन् ।

राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति उपत्यका स्तरीय जनजागरण तयारी बैठकमा बोल्दै उनले आफूहरू एजेण्डाको नजिक पुगेकाले कोही पनि उत्ताउलो हुन नपर्ने बताएका हुन् ।

उनले भने, ‘सबैले आफ्नो जिम्मेवारी कर्तव्य इमानदारितापूर्वक निर्वाह गर्नुपर्छ । शान्तिपुर्ण आन्दोलनले एजेण्डा स्थापित गरेरै छाड्छौं । हामी एजेण्डाको नजिक पुगेका छौं । तर यसको लागि कोहि पनि उत्ताउलो हुनु हुँदैन । विग्रियो भने हामीबाटै बिग्रिने हो । हामी सबै जिम्मेवार हुनुपर्छ । इमानदार हुनुपर्छ ।’

साथै उनले जेठ १५ गते हुने राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलनमा सबैको सहभागिता गराउनुपर्ने बताए  । उनले आन्दोलन सम्पूर्ण नेपालीको साझा आन्दोलन हो भन्ने ढंगले आफूलाई अगाडि ल्याउनुपर्ने बताए ।

उनले भने, ‘हामी अहिले जति छौं त्यतिले मात्रै पुग्दैन । यो कुरा म जहिले पनि भन्ने गरेको छु । छरिएकाहरू मिलेर आम जनताहरूलाई साथमा लिएर अगाडि बढ्दैनौं तबसम्म एजेण्डा पूरा हुन सक्दैन । जेठ १५ गते ११ दिन बाँकी छ १२ दिन बाँकी छ भनेर होइन भोलि नै छ भनेर काम सुरु गर्नुपर्छ । आन्दोलन राजसंस्था पुनस्थापनाको आन्दोलन, हिन्दु राष्ट्र पुनस्थापना गर्न चाहनेको पनि हो । देशमा सुशासन र विकास चाहनेको पनि हो । बैंक वित्तीय सहकारी पीडित मानिसहरूको पनि हो, देशभित्रै रोजगारीको वातावरण निर्माण हुनुपर्छ भन्नेको पनि हो र यो  आन्दोलन विदेशमा रहेका गैर आवासीय नेपालीहरूको पनि हो । यो सम्पूर्ण नेपालीको  साझा आन्दोलन हो भन्ने ढंगले आफूलाई अगाडि ल्याउनुपर्छ ।’

यसैगरी उनले आम जनतालाई १५ गते सडकमा ल्याउन सबैले मेहनत गर्नुपर्ने बताए । उनले अहिले थुप्रै पार्टीका शक्तिहरू मिलेकोले आफूहरू पनि मिलेर अगाडि बढ्नुपर्ने बताए ।


 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १८:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update