Harsamaya
कर्णालीका विषयमा सरकार मजाक गरिरहेको छ : सांसद कठायत
प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विनिता कठायत ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले कर्णालीका सांसदहरूले देशका अन्य ठाउँमा राज्यले गरेको लगानी र कर्णालीमा भएको लगानीको तुलनात्मक जवाफ खोजिरहेको बताएकी छन् । प्रतिनिधि सभामा बैठकमा बोल्दै उनले कर्णालीका मुद्दालाई गम्भीर रूपले उठाउने गरे पनि सरकारले फितलो जवाफ दिने गरेको बताइन् ।

‘हामी कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरूले कर्णालीका मुद्दालाई गम्भीर रूपले उठाउने गर्दछौ । तर यो सरकार भने अति नै फितलो जवाफ दिने गर्दछ । हामीले सरकारसँग देशका अन्य ठाउँमा राज्यले गरेको लगानी र कर्णालीमा भएको लगानीको तुलनात्मक जवाफ खोजिरहेका हुन्छौ । यदि कर्णालीलाई क्षति भएको निष्कर्ष हो भने क्षतिपूर्ति सहितको राज्यको लगानी खोजिरहेका छौ । तर सरकार भने मजाक गरिराखेको छ,’ उनले भनिन् ।

उनले सरकार कर्णाली जनतासँग मजाक गरिरहेको भन्दै विकासका नाममा पूरा नै गुणगान गाइरहेको पनि बताइन् । ६० को दशकमा बनेको सुर्खेत–जुम्ला कोरिडोर, ३० को दशकमा बनेको विमानस्थल र डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले बनाएको कर्णाली स्वास्थ्य प्रतिष्ठानको गुणगान गाएर बस्दा जिम्मेवारी पूरा नहुने उनको जिकिर छ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update