काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले विगतमा वामपन्थी र दक्षिणपन्थी विचार बोकेकाहरु मिलेर नै आन्दोलनहरू सफल भएको बताएका छन् ।
शनिबार ३२ औँ मदन—आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको परिस्थिति अनुरूप कांग्रेस र कम्युनिष्ट मिल्नुपर्ने बताएका हुन् ।
उनले भने,‘कमरेड पुष्पलालले भन्नुभएको थियो–जबसम्म यहाँ नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीले हातेमालो गर्दैनन्, निरङ्कुश राजतन्त्रलाई पञ्चायती तानाशाहीलाई पराजित गर्न सकिँदैन । यो विचारलाई कांग्रेसका नेता बीपी कोइरालाले अस्वीकार गरेका थिए । फलस्वरुप बीपी बाँचुन्जेलसम्म नेपाली कांग्रेसबाट एक्लै आन्दोलन सफल भएन ।
पछिल्लो ०६२/६३ वामपन्थी र दक्षिणपन्थी विचार बोकेर पनि देशको परिस्थितिमा निरङ्कुश राजतन्त्रको विरुद्धमा जुध्ने मानसिकताले दुईले हातेमालो गरे र राजतन्त्रको अन्त्य पनि भयो । यो वास्तविकतालाई सबैले महसुस गर्नुपर्छ । किताबको पाना पल्टाएर होइन देशको परिस्थिति अनुसार अगाडि बढ्नुपर्छ ।’
उनले जनताको विश्वास अनुरुप काम गर्नुपर्ने भन्दै सबै एकतावद्ध भएर काम गर्नुपर्ने बताए ।