Harsamaya
रौतहटमा गाडीबाट लडेर युवकको मृत्यु, पहिचान खुल्न बाँकी
पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित दुर्घटनामा परेर एक जना अन्दाजी ३५ वर्षीय युवकको मृत्यु भएको छ। 

रौतहट - पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित दुर्घटनामा परेर एक जना अन्दाजी ३५ वर्षीय युवकको मृत्यु भएको छ। 

मृतकको पहिचान र दुर्घटना भएको गाडीको पहिचान हालसम्म  खुल्न नसकेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताए ।

गएराति १० बजेको समयमा चन्द्रपुर–४ पूर्व पश्चिम राजमार्ग सडक खण्डमा उक्त युवक दुर्घटना भई घाइते अवस्थामा लडेको फेला परेका थिए । 

प्रहरी गस्ती टोलीले तत्काल निजलाई उद्धार गरी उपचारको लागी स्थानीय अस्पतालमा पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको डिएसपी राईले बताएका छन्। राजमार्गमा गुडिरहेको कुनै गाडी बाट लडेर उक्त दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको डिएसपी राईको भनाई रहेको छ।

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा राखिएको तथा घटना सम्बन्धी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। मृतकलाई चिन्नु हुने महानुभावहरूले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा सम्पर्क गर्न प्रहरीले अनुरोधसमेत गरेको छ।
 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update