Harsamaya
सम्बन्धका कुट्काकुट्कीहरू : ए सम्बन्धहरू, ओ सम्बन्धहरू !    
राजेनद्र भट्ट । ग्राफिक्स : हर समय/Har Samaya

 सम्बन्धहरू सजिला मात्रै कहाँ हुन्छन्? असजिला पनि हुन्छन्। अप्ठ्यारा पनि हुन्छन्। सम्बन्धसँग सँगै जोडिन आइपुग्ने तमाम इच्छा, रहर, र स्वार्थहरूको असहजता, अप्राकृतिक मर्यादाहरू,.. झन् कति हो कति गह्रौँ र जिद्दी रहे। सम्बन्ध भनेको दुई दिन, चार दिनको मात्र पनि हुन्छ। एकैछिन र केहीबेरको मात्र पनि हुन्छन्। कसले भन्छ, सम्बन्धहरू लामो समयसम्म टिक्नेछ? सम्बन्धले लामो दूरी पार गर्नेछ? गन्तव्य भेट्नेछ? 

मैले यस्ता धेरै सम्बन्धहरू पनि भेटेको छु, जहाँ सहजता रहेन। समागम भएन। बसाउठी भइरहन सकेन। ती व्यक्तिहरू सहसा मकहाँ आइपुगे। मसँग अपर्झट घटित भए। एकाएक, अकस्मात्, अचानक, सोचविचारबिना मसँग ठोक्किन आइपुगे। जसको नतिजा-  हामी सहचर रहेनौँ, सँगी भएनौँ, सहेली बनेनौँ, सहगामी भइरहन सकेनौँ। यद्यपि तिनै सम्बन्धहरूबारे कल्पना गर्दा म खुसी हुन्छु, मर्मशील हुन्छु। ती सम्बन्धहरू पारख गरिरहन मन हुन्छ। ती सम्बन्धहरूको कृष्णलोहले मेरो हृदयलाई अहिले पनि आकर्षण गरिरहन्छ। 

शुष्ककलह कहिले भएन त्यहाँ। व्यर्थको मनमुटाब त्यहाँ हुनै पाएन त्यहाँ। सायद हुँदो यसैकारण ती सम्बन्धहरू मनोहर रहिरहे। जसको प्रशंसा गरिरहँदा, स्तुति गाइरहँदा किञ्चित मात्र पनि पश्चताप् हुँदैन। ढिब्रीमा बलिरहेको बाती जस्तो ती सम्बन्धहरूको उज्यालोले मलाई यतिखेर पनि घेरिरहेको छ। ती सबन्धहरूलाई मानौँ जिब्रोले छोइरहूँ, ती सम्बन्धहरूलाई मानौँ आँखाबाट पनि झार्न नदिऔँ। ती सम्बन्धहरू एकमुखे रुद्राक्ष जस्ता भए, बडो मुस्किलले भेटिएका। बडो कष्टले जोगाइराखेका। यसका विभिन्न पहेँलीहरू छन्, तर ती मिठो-मनितो जस्तो भए पनि ती मज्जालाग्दा छन्। चाखपूर्ण छन्।

र, यस्ता सम्बन्धहरूबारे लेख्न मन पनि हुन्न। कस्तो बचाएर राख्न मन लाग्छ। कति हो कति जोगाएर राख्न मन लाग्छ। अति मायाले, अति प्रेमले सुमसुम्याइरहन मन लाग्छ। प्रेमपासमा बाँधिरहूँ जस्तो, प्रेमास्कत होइरहूँ जस्तो। जसबारे लेख्नै सकिन्न, बोल्नै सकिन्न। अभिव्यक्तिका लागि होइनन् ती। अभिनीत हुँदैनन् ती।  

ती सम्बन्धहरू इशारातीत हुन्छन्, रहिरहुन्।
ती त अभीष्ट छन्, रहिरहुन्। ज्यादै मन परेको कुराहरू छन् त्यहाँ।
अति प्यारो विचारप्रवाह छन् त्यहाँ, अति इच्छित तात्पर्ययता छन् त्यहाँ,..रहिरहुन्। 

म कोही अबज्स्याहा व्यक्ति होइन, तर यस्ता सम्बन्ध नहुनेहरू भाग्यवादको नजरले अभागी हुन्, नित्सेको नजरले ईश्वर बराबर हुन्।

अर्कोतर्फ यस्ता सम्बन्धहरू छन्, जसबारे हामी सदैव श्रद्धेय हुन्छौँ। 

आमा, बुबा, देशसँगको सम्बन्ध केही यस्तै रहन्छ। किनभने यी कुरा स्वतः श्रद्धाको घेराभित्र अटाउन आइपुग्छन्। जस्तो नाबालक बच्चाहरूसँग कारुणिक सम्बन्ध, त्यहाँ स्वतः करुणा आइपुग्दछ। सुन्दरतासँग भनौँ, त्यहाँ स्वतः प्रेमरस र प्रफुल्लता आइपुग्छ। सहज- स्वाभाविक अनुभवका कारण घट्न पुग्छन् यी। प्रेमास्पद साक्षात्कारहरू हुन् ती। र, यी सम्बन्धहरूबारे लेखेर दुर्वाच्य हुनु मलाई छैन। यी जे छन्, जस्ता छन्; त्यस्तै रहिरहुन्। 

कुनै पनि वस्तु स्वभावतः मूल्यहीन र अमूल्य भन्ने हुँदैन, त्यसप्रतिको लगाव र श्रद्धाको हो मूल्य हुने, औचित्य हुने। शबरीको बयर र सुदामाको कनिकाका कथा सायद यही श्रद्धाका कथाहरू हुन्। श्रद्धाका सम्बन्धहरू हुन्। यी त श्रद्धेय सम्बन्ध हुन्। यी त मानभाउ र कदर भन्दा पनि निकै माथि छन्।

अब यसो गरौँ,

केही यस्ता सम्बन्धहरूबारे चर्चा गरौँ- जसले मलाइ पिरोलिरहन्छ, लखेटिरहन्छ। आज यतिखेर यसै पनि सम्बन्धहरूबारे सोचेर दिन बियाँल्ने मेसो गरिरहेको छु। दिनकटनीको लागि यो भन्दा उत्तम विकल्प अर्को केही होला र? खैर, यो अकस्मात् घटित प्रश्न हो, माथि वर्णन गरिए जस्तै। 

उम्, म भन्दै थिएँ, केही त्यस्ता सबन्धहरू छन् मेरा, जसको मलाई कटाक्ष गर्न मन लागेको छ। तीनका चोक्टाचोक्टीहरू केलाउन मन छ, कुट्काकुट्कीहरू निफन्न मन छ। 

‘ती सबन्धहरू’लाई म अहिले ‘यी सम्बन्धहरू’ भनेर सम्बोधन गर्नेछु किनभने म अहिले पनि यी सम्बन्धहरूबाट भाग्न सकेको छैन। मैले कुनै उन्मुक्तिको तँगारो देखेको छैन यहाँबाट। तर आशातीत भने छु की यी सम्बन्धहरू सदैव यस्तै रहिरहने छैनन्। परिवर्तनको नियम सम्बन्धहरूको जोड घटाउमा जत्ति कहाँ लागू हुँदो हो?

श्रद्धा अति श्रद्धामा पुग्दा दुर्घटना हुन्छ। सबन्धहरू पनि अतिसम्बन्ध (यो शब्द छ की छैन?) मा पुग्दा दुर्घटनाग्रस्त हुँदा हुन्। यहाँ यतिखेर त ‘ती’, माफ पाउँ, ‘यी’ दुर्घटनाका कारुणिक दृश्यहरू सूचकाक्षर गर्नेछु। 

यी कोही बेस्वादिलो छन्, यी कोही अत्यन्त पीडादायी छन्। हो, यी सम्बन्धहरू निभाउने कर्ममा हामी पाषाण हृदय बोकेर बस्यौँ। एकअर्काको नजिक भयौँ तर भौतिक हिसाबले मात्र। एक अर्काले आफ्नो बताइरहन मुख उघारिरह्यौँ तर हात-पाउ, आँखा-नाकबाट भने हामीले सक्दो कटाक्षपात गरिरह्यौँ। प्रेम, क्रोध, ईर्ष्या त्यो हदसम्म गर्‍यौँ की त्यहाँ हामीबाहेक कुनै पनि अलगाव, अपरिचित कुराहरूको प्रवेश नै रहेन। यो शब्दको प्रयोग ठिक होइन, तर हामी ‘विष्ठाहारी’ भएका थियौँ। गू नै त खाएनौँ, तर त्यो गन्ध हामी भित्र-भित्र सम्म पुगिसकेको थियो। र, यी सबन्धहरू अपाच्य बनिरहेका छन्। सान्निध्ययतामा छेरौटी लागिरहेको छ। हामी पन्यालो वस्तु बनिरहेका छौँ। जहाँतहीँ छताछुल्ल, जताततै छेलोखेलो, जतिखेरै उखालपखाल।...

कसैको सामाजिक ओहदा र संरचनालाई मेरो दिमागले कहिल्यै समाउन जानेन। मान्छेको बौद्धिकता भनेको ऊसँगको कोमलता हो, सौहार्द्यता हो, आत्मिकता हो, चञ्चलता हो- मेरो हृदय आजसम्म पनि यही भनिरहन्छ। आत्मा के भन्छ, मैले त्यो आवाज सुन्न सकेको छैन। 

सभ्यताको इतिहासमा मानिसका नैसर्गिक आवश्यकताहरूमध्ये ‘सम्बन्ध’ एउटा प्रमुख कुरो रहेछ, बुझिल्याउँदा म यही भेट्छु। चाहे त्यहाँ ईश्वर र मानिसको कुरा होस्, रचना र कल्पनाका कुराहरू हुन। चाहे त्यहाँ कला, संस्कृति, साहित्य, सिद्धान्त, काल, आकाश जस्ता अमूर्तताको कुरा होस्। चाहे त्यो शरीरधारी/साकार भौतिक वस्तुहरूकै कुराहरू होउन्। त्यहाँ सबन्ध स्थापित भएको छ, छ (हुँदै आइरहेको छ)। चाहे ती मुहूर्तसम्बन्धी व्याख्या विश्लेषण गर्ने मौहूर्तिक गणकहरू हुन् या तपस्वी र तपोमूर्तिहरू हुन्। चाहे ती मजदुरका गुनासोहरू सुनी मात्र रहने मार्क्सहरू हुन् या रगत प्रवाहलाई अस्तित्वको बाघचाल लडाई बनाउन तम्सिएका पैसाका भक्तहरू हुन्। या अन्य कुनै पनि विचारधारा र साधनाका पन्थहरू हुन्; उनीहरू पनि सम्बन्धको चिरफार गर्ने क्रममा हिचकिचाउँछन्। सम्बन्ध के हो र कस्तो हुनुपर्छ- यसबारे मलाई लाग्दैन कसैले ठोकुवा ठोकेर यही र यस्तो भनेको छ।

म मूर्तिभन्जकहरूले मूर्ति तोडिरहँदा पनि उपस्थित छु र मूर्तिपूजकहरूले कुनै ईश्वरको पूजाआराधना गरिरहँदा पनि उपस्थित छु। र, मेरो दुवैसँग बराबर उठबस होइरहन्छ। मलाई यति चाहिँ थाहा छ, दुई फरक विचार बोकेका यी दुई समूहहरूको सम्बन्ध बस् मूर्तिसँग छ। यिनीहरूलाई फिटिक्कै नरुचाउने अर्को समूह पनि छ। यी सबै आ-आफ्ना जीवनउपरका श्रद्धाहरूमा साधनारत छन्। र, यी सबबाट पर रहेका आत्मवादीहरू, शून्यवादीहरू व्यक्तिहरू पनि मानिस एवं समाजलाई निरीह र लाचार बताउँदै यस समाजबाट अलग भएता पनि कुनै न कुनै रूपमा सम्बन्धमा गाँसिन चाही फेरी पनि आइपुगेकै छन्। यहाँ, कोही न कोही, केही न केही कुरा/वस्तु(मूर्त /अमूर्त) सँग सम्बन्ध स्थापित गर्ने अनुभव-यात्रामा लागिपरेका रहेछन्, यसो घोत्लिँदा म यस्तै भेट्छु।

हो, यी सब कुराहरूमा उसले देखाउने भनेको आफ्नोपन पनि रहेछ, मौलिकता रहेछ। र, सोही अनुसारकै आत्मस्विकारुक्तिको स-सानो, झिना-मसिना झिल्काहरू सँगाल्दै जाने क्रममा सम्बन्ध विकास हुँदो रहेछ, झाँगिँदो रहेछ। र, ती झिल्काहरू कहिले आङमा खस्ला कहिले ओदानमुनि खस्ला। कुरा त यति न हो!

अब अलि छरपष्ट हौँ है, अलि सजिलो’री कुरा गर्‍यौँ क्यारे!

म विभिन्न सम्बन्धहरूमा रहेँ। पारिवारिक सम्बन्ध मेरो ठिकठाक नै रह्यो। एकप्रकारले घरपरिवारले श्रद्धा, स्नेह र आशीर्वादको दुबोमा नै मलाई हुर्काए, या म हुर्किएँ। यसकारण ध्वंसात्मक मानसिकताको बीज मेरो मस्तिष्कमा अङ्कुरित हुन् पाएन। दुबो ध्वंसात्मक बेर्नो होइन पनि। तर, जब मैले दुनियाँको असली जालसाजी र धरपकड धेरै पछि चाखेँ, त्यो अङ्कुरण नभई सुख थिएन। सोहीबिच पारिवारिक दुबोबाट पन्छन पनि मेरो केही समय हठ रह्यो। तर जब सांसारिक जालसाजी, धोकाछलीहरू म चिन्दै गएँ, बुझ्दै गएँ; पारिवारिक रूपमा म आफसेआफ अझ नगिच हुँदै गएँ।  

सामाजिक सम्बन्धहरूको हिसाबकिताब गर्न मलाई मन लाग्दैन। कारण हो- समाजले म जे हुँ, त्यो कहिल्यै स्विकारेन। न मैले नै समाज जे छ, त्यसलाई चुपचाप स्विकारिरहेँ। समाजका हरेक कुरा, हरेक थोकसँग मेरो विद्रोह रहन्छ। सबैभन्दा बेसी समाजको चेतना र गुणवत्तासँग मेरा प्रश्नहरू रहन्छन्। ‘म समाजलाई टेर्दै नटेर्ने एउटा डकुलन्ठू बनेको छु’,- कम्स्केकम समाज मेरो बारेमा यही बोल्छ।

सरसर्ती यी दुई सम्बन्धबारे यति बोलिसकेपछि मलाई केही रमाइला सम्बन्धहरू वर्णन गर्दै जान मन लागेको छ।

सम्बन्धहरू जस्तो, साथिभाइसँगका। यसमा म भिज्ने खालको रहेनछु। भिज्ने तर उत्रिई पनि हाल्ने। डुबिरहन नसक्दो रहेछु। डुब्दा एकप्रकारको उकुसमुकुस र निसास्साई सधैँ रहिरह्यो। साथीभाइहरू सँग एकै गाउँ, एकै स्कुल, एकै पाठ्यक्रम, एकै खेलकुद/भागदौड, एकै शिक्षक-शिक्षिकाको अध्यापन रहेता पनि म अलग भएछु। म आजभोलि सोच्ने गर्छु, “आच्या, एकै कुरा पढेर, एकै समाज देखेर/भोगेर, एकै नैतिकता, राष्ट्रियता वा भौगोलिक अखण्डतामा अटाएर पनि म कसरी तमाम मेरा साथीहरू भन्दा अलग भएँ?” मैले उत्तर भेटेको छैन।

यतिखेर जो-जो मेरा साथीहरू छन्, तीनका अनुभव भने मेरै जस्तो छ। तर सबकुरा अलग छन्। भूगोल, परिवार, समाज, संस्कार र यहाँसम्म की उमेर पनि। यस क्रममा हामीबीच बालसुलभ भोगाई फरक पर्नु स्वाभाविक भयो तर समाजको नजरमा उनीहरू र म; आफन्तजनको नजरमा उनीहरू र म; काटीकुटी बराबरी छौँ। दशैंमा चौध धार्नीको खसी लडाएर ५४ भाग बनाए जस्तो। हत्केलाले हो नि तौलेको तर तुलाले जोखेको भन्दा बढी बराबर छ। अँ, मेरा यतिखेरका साथीभाइहरूको किस्सा र मेरो किस्सा त्यही ५४ भाग मध्येका कुनै पनि एक-एक भाग हुन्। जो बराबरी छन्।

जस्तो, आफन्तजनहरू। उनीहरू मलाई सबैभन्दा मननपर्ने र वाहियात लाग्ने एउटा म नजिकको वर्ग हो। जो परिचालित जीवन निर्वाह गर्दा खेर पनि असाध्यै खुसी र सन्तुष्ट माहौल आफू वरपर निर्माण गर्न सकिरहेका छन्। कहिलेकाहीँ त स्वाङ हो झैँ पनि लाग्छ, तर होइन। उनीहरूको जीवन प्रवाह नै यस्तै छ। मस्तराम भइरहन सक्ने। जहाँ जसको जे होस्, मतलब छैन। तर आफ्नो भाइ, भदौ, भान्जा, भतिज, छोरीहरूका बारे भने यिनीहरूलाई सब थाहा हुनुपर्छ। औँलाको रौँदेखि जुताको तुनासम्म।  

उनीहरू कहाँ कहिलेकसो एक-एक किलो स्याउ, एक-एक दर्जन केरा र एक-दुई पाउ बदाम र काजु बोकेर पुग्दा म देख्ने गर्छु- इत्रा इत्रा कुरा पनि कत्रा कत्रा गफ ल्याउन सकेका? मसिना-भुरा कुरामा पनि कत्रो-कत्रो इनार-पोखरी-दह खन्न सकेका? झिनाझिना कुराहरू बटुलेर पनि कत्रो कत्रो आगोको लप्काहरू उठाउन सकेका हुन्? धुवाँ पुत्त्याउँन सकेका? सोच्दै गर्दा, मेरो दिमाग सुरुक्क ट्वाइलेट छिर्ने मनाशय बताएर मूल गेट बाहिर निस्कन आतुर गरिहाल्छ। भँगेरा मारिसकेपछि भुत्लाउँन अल्छ्याई गर्न कहाँ पाइन्छ?  यसैले ढसमस्स भएर पसिना पुछ्दै पनि बस्नै पर्छ। तिनका दुनियाँदारी देख्नैपर्छ।

अब अर्को भनेको त्यहाँ पुग्दा शिष्टाचार र मान-सम्मानको भारी म बोक्नै जान्दिनँ। भिनाजुलाई पहिले नमस्कार गर्ने हो कि दिदीलाई? भान्जोलाई काजु दिने हो भान्जीलाई? स्याउ दिन त दिने तर कतिखेर दिने? जाने बित्तिकै दिने हो कि निस्कन लाग्दा दिने? हावाको बहाव सँगसँगै बत्तिएर कोठाभित्र आइपुगेर हरेक भित्तामा ठक्कर खाएर निस्कने चेष्टा गरिरहेको परेवा जस्तै हुन्छु म। संसारका यावत यावत रहस्यहरूबाट मैले पार पाउला तर यी कुराहरूबाट? ..मैले सक्ने भइनँ। 

बस्यो, बस्यो...बस्यो..अल्छी यति लाग्छ- जति आफ्नो कोठामा साथी र उसको प्रेमीकालाई छिराएर कहिलेकसो आफू २/३ घण्टा यसै बाहिर फेर रुङेर बस्नुपर्छ। अझ यी आदर-सत्कारका भोका ठुल्बाउ, हजुरबाउ र फुपूहरूकहाँ पुग्दा मैले धर पाउन्न- मैले गर्ने के हो? गर्ने कसरी हो? के बोल्ने हो? कति बोल्ने हो? उनीहरूलाई यति जान्नु हुन्छ मबारे, के भनौँ? मै जान्दिनँ- यिनीहरूलाई केके बताउने हो? कति जान्न मन हो? “के गरिराछस्, किन गरिराछस्? कसरी, कता..?” अनि त्यसपछि उनीहरूको आफ्नो राय, विचार, दृष्टिकोण। उफ्,..निकै सैतानी समय रहन्छन् ती। 

हँसियाको बिहेमा खुर्पाले गीत पनि गाउला। बालुवा निचोरेर तेल पनि निस्केला। तातोपानीले घर पनि डढ्ला। जुनकिरीको पिँधले औँसी पनि उज्यालो होला। चिनी चिनी भन्दाभन्दै मुख गुलियो पनि होला। तर आफन्तजन करेसाकै भूत हुन्। यिनले तर्साउन छोड्लान् भनेर नसोचेकै बेस्। जुत्ताको माला खाएका नेता छाला देख्यो कि तर्सन्छन् नि। हो, म त्यही हुँ, यो मामलामा चाहिँ।

जस्तो; भाउजु, माइजु र काकीहरूसँग रहँदाको क्षण। 

भाउजूहरूको आँखा नै त्यस्तो हो कि नियत त्यस्तो हो? मैले ठम्याउन सकेको छैन।

माइजूहरू यति प्रेमभाव र आदरभाव पस्कन्छन्, मानौँ उनको सामुन्ने भान्जो होइन कोही राजकुमार आएको छ, दैविक अवतार फुत्रुक्क खसको छ।

काकीहरू जतिखेरै गाली गर्न र नराम्रो कोट्याउन मात्रै किन मरिहत्ते गर्छन्? दारी बाहेक अर्को विषय पनि छ। कपाल बाहेक अर्को कुरा पनि गर्न सकिन्छ। र, बिहे? यो सार्वभौम विषय हो- आफन्तजनकहाँ पुग्दा। यिनलाई मेरै बिहे गराउन के विधि रुचि हो? गर्ने मैले हो, जेजसरी हो- जीवन बिताउने मैले हो। र, बिहे भन्ने कुरा भर्खरै गरिहाल्न जेजस्तो कारणहरू यिनीहरू बताउँछन्- त्यो कहिल्यै मेरो दिमागले समात्न सक्दैन। 

‘बेला भयो।’- यो भनेको के?
‘बुढो भइसकिस् अब त..।’- आफ्नो उमेर हेरेका छन्? म हैरान हुन्छु।

आफन्तजन बिरामी हुँदा, अस्पताल पुग्दा र आर्यघाटसम्म नै पुग्दा भने मन अत्तालिन्छ, चिसो चिसो हुन्छ। जे भए नि जस्तो भए नि, थिए त आफ्नै। यमराज भए नै आफ्नै मृत्युको अधिकारसम्पन्न ग्राहक हो नि यार..! 

अर्का हुन्छन्, जो जागिरका सिलसिलामा बन्ने या बन्न आइपुग्नेहरू। यी मान्छे होइनन्। मान्छे होइनन् भनेर पनि भर नपाइने। यिनीहरूसँग रातोदिन उठबस गर्नु छ। गाली गलौजमा उत्रनु छ। उपियाँ, उडुस र जुम्रा भन्दा पनि रगत चुस्न सिपालु यी जातका सम्बन्धहरूबाट भाग्न मेरो कत्रो मेहनत छ? तर फिलहाल, हालसम्म भागिहाल्न सकिएको छैन। 

पेट छ, जो हरहमेशा भोकाइ रहन्छ।
आँखाहरू छन्, जो प्रहर पछि निन्द्रा खोज्छन्।
शरीर छ, जो केही समयपछि आराम खोज्छ। 

मलाई थाहा छ, भोक, निन्द्रा र आराम बेगर पनि म बाच्न सक्छु। नभए भोक, निन्द्रा र आरामको लागि गरिने दौडधूप अर्को केही पनि छ। अरू केही पनि भेटिन सक्छ। तर सामाजिक गोहो यसरी बनाइएको छ कि छामछाम छुमछुम गर्दै आइपुग्दा यी यस्तै खाल्डोमा आइपुगेर उत्तानटाङ लाग्नै पर्ने रहेछ। 

यी अँन्धमुष्ठी अँध्यारा रातहरू हुन्।
यी ठुस्स ठुस्स गन्हाइरहने मलखाद र सार्वजनिक शौचालयहरू हुन्।
यी लेउ लागेका पहाडका भीरहरू हुन्।
यी चिप्ले ढुङ्गा हुन्, स-साना खोल्साका। 

यी प्रकाशक र पाठकमैत्री अवधारणाको अतिवाद हुन्।
यी आफूअनुकुल तर्कका पुजारी हुन्।
यी खर्कका चौँरीलाई डसिरहने जलवायु जोखिम हुन्।
यी एउटा दिगमिग हुन्, एकछत्र नाकैमा बसिरहने।

जति नै बाठो भइटोपलौँ न, जति न खुरन्धार भई खाऊँ न, यहाँ त जाकिनु नै छ। यहाँ आएर खुदुमुन्टिनु नै छ। म पहिलेपहिले अचाक्ली अनौठा र अचम्मलाग्ने सामुन्द्रिक या परको भौगोलिक जीवजन्तुहरूबारे पढ्दा सोच्ने गर्थे, “आच्या यस्ता पनि हुन्छ र? यो मास्टरले कस्सम गफ लायो।" तर अहिले, यतिखेर त्यो मास्टरलाई भेटेर साष्टाङ्ग दण्डवत् गर्न मन छ। दुईटा नरिवल र एक डालो फूल तीनका पाउमा राख्न मन छ। तर, मेरो दुर्भाग्य, ती मास्टरहरू यतिखेर इहलीलाको खारेजीमा परिसकेका छन्। पन्च तत्त्वमा बिलाइसकेका छन्। 

सम्बन्धकै कुरा हुँदै छ, अझै गरौँ- एक दुई कुरा! 

आज यसै पनि वैचारिक गन्थनमन्थनमा उत्रन मन लागेको छैन। नैतिकता, निष्ठा, बुद्धिमत्ता- जाओस् कहीँ पर गएर अक्करे भीरबाट खँगारिओस्। बर्रोको रुखबाट फ्याल हानेर मरोस्। नभए कोरोना लागेरै सडोस्। ‘भयो, गाली गर्नु हुन्न, एकदम अडिग रहनुपर्छ, ठिक्क बोल्नुपर्छ, शान्त रहनुपर्छ’- होची मिन्हदेखि गान्धीसम्म, त्यही मास्तिरका तिब्बतियन पठार छेउका कन्फुसियासदेखि यही मुन्तिर मधेसका बुद्धसम्म- कोही पनि मलाई बिथोल्न आउनु पर्‍या छैन। मलाई आज हद नाघेर गाली गर्न मन लागेको छ, मन लाग्दी बोल्न मन लागेको छ। तिमीहरू केही बेर चुप लाग्यो। चालचुल केही नगरी मेरो भडास चुपचाप सुनो। तिमेरुलाई सुन्दा सुन्दै मेरो बिल्लीबाँठ उठिसक्यो। ‘महान् आत्माहरू।  मलाइ दया गरो।’

अँ, सम्बन्धहरू !
ती करिब ७० लाख वर्ष अघिका होमो ह्याबीलीसहरू दक्षिण अफ्रिकामा जन्मिएका थिए नि। या ती जो त्यो समयमा यो गोलमटोल धर्तीका फरक-फरक ठाउँमा फरक फरक मौसमी हावापानीमा एकसाथ या एकै कालखण्डमा अङ्कुरित भएका थिए- तिनीहरूलाई सम्झौँ। तिनीहरूमध्ये जोजती वैराग्यप्रेमी या अल्छी थिए, तिनले केकसो गरेर जीवन धाने होला- सोच्ने विषय हो। ‘अढाई सय/दुई सय वर्ष बाच्थे अरे ती।’ भौगोलिक अध्येता र वातावरणविद्का संशय एक ठाउँमा छन् तर ती त्यति लामो समयसम्म जीवित रहनुमा कहीँ न कहीँ यो एउटा कुराले भूमिका खेल्यो, खेल्यो। त्यो थ्यो- तीनका सम्बन्धहरू अलि सजिलो थियो।

सम्बन्धमा बसेका व्यक्तिहरूबीच अनुराग हुँदो हो, स्नेहका दृष्टिले एकअर्कालाई सत्कार गर्दा हुन्। यसैले त त्यो विधि बलिया र अग्ला भए। सम्बन्धका यी यति साह्रा गुजुल्टा र गाँठाहरूमा ती परेनन्। यो अनुसन्धानको विषय होइन, अनुमानको कुरा हो। र, यो विश्वको सबैभन्दा बेसी स्विकारिएको अनुसन्धानमा अनुमानको जति हात कसको छ? अनुमानको स्वभावतः प्रकृति अस्थिर रहन्छ तर अस्थिरतामा एकनासपन आयो भने त्यो स्थिरता बन्छ। र, विज्ञान सोही स्थिरतालाई आफ्नो मेरुदण्ड बनाएर यति अस्थिर भइरहेको छ। भन्नुको तात्पर्य, जेजति भएका छन् सब अनुमानका भरमा फत्ते गरिएका छन्। म त्यो मध्ये एउटा हुँ- जो विज्ञानलाई सबैभन्दा कुख्यात रुढीवादी मान्दछ।

***

फेरी यताउति पुग्यौं, यतै आउँ क्यारे।   

के-कस्ता समबन्धहरू हुन्छन अरू? जस्तो होटल र चिया पसल्का सम्बन्धहरू। 

चिया खाउन्जेल एउटा बुढो (उमेरगत सम्मान छँदै छ) जतिखेरै मलाई हेरिरहन्छ। न ऊ मलाई चिन्छ, न म उसलाई। एक वर्ष बेसी भइसक्यो हामी एकै पसलमा चिया पिउँछौँ, तर बोलचाल छैन। बुढो दिनहुँ दारी चिडुलाउँछ, म दिनकै दाह्रीमा तेल लगाउँछु। बुढो गोल्ड स्टारमा बडो फूर्तिसाथ् आएर पत्रिका पल्टाउँछ, म चुपचाप आउँछु न्युजफिड खोल्छु र चुरोट सल्काउँछु। बुढो सुरुप्प सुरुप्प आवाज निकालेरै चिया घट्काउँछ, म सकेसम्म हिँड्दा पनि जुत्ता नबजोस् भन्ने चाहन्छु। बुढो चस्मा लगाउँछ, ठ्याक्कै गान्धी चस्मा। म अलि चेप्टो चेप्टो लगाउँछु- ठ्याक्कै स्टालिनले ल्याउने जस्तो। 

मैले यतिखेर पनि याद गर्न सकिनँ,- ऊ र म बीच के कुरामा समानान्तरता छ? ऊ नआएको दिन, मलाई चिया खल्लो लाग्छ। ऊ आइपुग्ला कि भनेर म एक दुई कप चिया थप्न भ्याउँछु। त्यति गर्दा पनि बुढो आइपुगेनन् भने, बुढाले झैँ ‘नानी पैसा’ भनेर साहुनीलाई पैसा दिन्छु। साहुनी एकछिन वाल्लजिल्ल पर्छिन्, मेरो भागमा त्यो वाल्लजिल्ल पर्ने कार्यभार दिनभर रहन्छ। ‘कहाँ गयो हो यो बुढो’ भन्दै भोलिपल्ट बिहान पुग्दा ऊ पल्याकपुलुक हेरिरहेको भेटिन्छ। जसै म गएर वल्लो किनारमा बस्छु, मुला बुढो शान झारेर पत्रिका पढेझैँ गर्छ। बेला बेला पत्रिकाको एक कुनामा उसको आँखीभौँ उचालिएको देखिन्छ। त्यसपछि उही सुरुप्प..सुरुप्प..वाक्कदिक्क लाग्दो आवाज। म झ्याउँ मान्दै चुरोट सल्काउँछु।..

अब खाजा खाने होटलका कुरा गरौँ। 

त्यहाँ हुन्छ के त भन्दा, त्यहाँ त्यस्तो कोही बुढो भेटिन्न। त्यहाँ निश्चित प्राय कोही पनि हुँदैनन्। देखिने भेटिने अनुहार एक दिन, दुई दिन बिराई त्यही नै हुन्छन्। कहिलेकसो नयाँ मान्छे मुन्टियो- होटेलभरका ग्राहकहरूको आँखा त्यसमा गड्छ। नयाँ मान्छे बुझ्दैन, आज ऊ मुर्गा बन्ने पक्का छ। ‘तर  कुन चाहिँ स्वाँठहरू हुन् यी? के यसरी हेरिरहेका हुन्?’ ऊ चाउमिन अर्डर गर्नुपूर्व सोच्दो हो। 

चाउमिन साहुले ल्याइसक्छन् तर ऊ बस्ने ठाउँको खोजीमै हुन्छ। बल्लबल्ल कसैले दया देखाएर उसलाई चाक बिसाउने ठाउँ दियो भने पनि कुनामा बसेकोले ठेल्दिहाल्छ। काँटामा अड्केको चाउमिन भुईँ भरि हर हर ..। दुई चार गाँस चाउमिन बुत्ताएपछी ऊ पानीको जगको खोजी गर्छ। र, जब ऊ प्यासले बहुलाउँछ, पल्लो टेबलको एउटा आफू वरपर ४/४ वटा भरि जग राखेर मस्त गफ दिइरहेको हुन्छ। ऊ भन्ला पनि, “सर त्यो पानी यता पाउँ न।” त्यही टेबलको अर्को नयाँ आएको उसलाई पानी दिनु पहिले जग रित्ताउँछ र भन्छ- ‘ल्या, सर भर्खर सकिएछ।’ भलै ऊ त्यो भरि जग रित्तेर ट्वाइलेट कुदोस् तर त्यो गर्नु सबको नित्य कर्म हो। कानुनतः त्यहाँ त्यसो गर्ने पर्छ। नत्र अर्को दिन ऊ यही चाउमिन वालाझैँ छटपटाउनु निश्चितप्राय छ। 

पानी नपाएको झोकमा ऊ साहुलाई चर्को स्वर पनि गर्ला। तर साहु हामीलाई चर्को स्वर गर्न सक्दैन। ऊ त एकदिन आउँछ, जान्छ। हामी सधैँ आउने हौँ। हाम्मलाई गाली गरे उसले सटर नझारे पनि हुन्छ। उसको भोकमरी चल्छ - यो महँगीमा। 

चाउमिनवाला पछि अर्को म:म: वाला आइपुग्छ। बिचरो ऊ झोल थप्नै पाउँदैन। झ्याल पट्टिको कुनै एक दारीवाला म:म: को झोल घुटुघुटु पिउँछ तर म:म: वालालाई दिने छाँट देखाउँदैन। उसले दियो कि भोलि उसले निस्तै म:म: चपाउनुपर्छ। 

अर्को पसिना पसिना भएर आइपुग्छ र कोक माग्छ। भिडभाडमा एउटा न एउटा जानीजानी त्यहाँ पुग्छ, र उसको कोक सकभर लडाउने चेष्टा गर्छ। लडाउन सफल भयो भने उसलाई एउटा कोक दिन अर्को कोहीको आवाज आउँछ, “ए साहु, यो जिम्बालाई एउटा फ्रिज भित्रको कोक दिनुस् त।” एक दुई खेप मैले पनि यसरी सित्तैमा कोक रित्ताउने मौका पाएको छु। 

म कुरा गर्दै थिए, सम्बन्धको। अब यी तमाम होटेलका नियमित ग्राहकहरू (म सहित )लाई एकअर्काबारे त्यति बिघ्न केही पनि थाहा छैन। कोही सहकारी वाला होला, कोही विद्यार्थी नेता, कोही लेखकले ठगेको पाठक, कोही प्रेमिकाका लागि झुम्का किन्न हिँडेको नवजवान, कोही माइतीघरमा टाउको फुटाइरहने तन्नेरी, कोही सैलुनवाला होला, कोही सुनपसले। कोही तन्नम अनलाइन मिडिया र एनजिओहरूमा जागिर गरिरहेको पुँजीवाद नामक कथाको नियमित श्रोता होलान्.. तर सबको एकमत छ। सबमा एकनासपन छ। दिनभरको थकाई यहाँ यसरी नै निस्तेज पार्ने हो- त्यसको लागि जुनसुकै हालतमा किन उत्रनु नपरोस्?

अर्का सम्बन्धहरू, सार्वजनिक गाडीमा बन्छन्। नियमित अफिस-डेरा आउजाउ गरिरहने हुँदा ५ दिन अगाडी भेटिएको यात्रु आज भेटिनु स्वाभाविक हुन्छ। त्यो चाहे अफिस जाँदै गर्दा होस् या अफिसबाट फर्कँदै गर्दा। त्यसो भएपछि, एकप्रकारको गफमा हामी दुईको मन मिल्दछ। 

जस्तो, ‘यो मुला गाडी चढ्नै नहुने? जहिले यस्तै गर्छ !”

उसले पनि फ्याट्ट दिइहाल्छ, “भाडा पनि २५ रुपियाँ लिग्छ। राख्न चाहिँ एउटा सिटमै २-२ जना राख्छ। सिटभन्दा बाहिर पनि मान्छे राख्ने भए त १५ रूपे ले भो नि।” 

अर्को तल्लो सिटको आन्टी सायद घरतिर बुढोसँग झगडा गरेर आँकी थिइन् कि- त्यही रिस सहचालकमाथि पोख्छिन्, “गाडीवालाहरूले आफूलाई राजा ठानेका छन्। यिनको मनको चल्छ भन्ठानेका छन्। लौ म पनि हेरूँ त तिमारू दुई खाँलासी र ड्राइभर भएर मात्र कसरी चल्दो रहेछ,  यो बस? साथीहरू हामी सब झरौँ। चलाउन्, यिनीहरू मात्रै यो बस। “

थाहा छ, उठ्ने कोही होइन सिटबाट तर, मनकै कुरा बोलेकी हुन्छिन् त्यो आन्टीले। उठेर थप्पडी बजाएर होई होई गरौँ जस्तो हुन्छ। “क्या बात आन्टी, आन्टी भन्या त यस्तो पो हुनुपर्छ। तपाईँको श्रीमानले अर्को केटीतिर आँखा पनि नलगाउन्।” यस्ता तमाम आशीर्वाद र वरदान दिम दिम लाग्छ। 

तर म बुझ्न सक्दिनँ, एकछिन अघिसम्म ‘क्या बात’ भन्दै उफ्रेर रमाएर आन्टीलाई आफ्नो हृदयमा ठाउँ दिएको म जब केही बेरपछि तिनै आन्टीको कुहिनोले घुचुक्क लागेर मरितुल्य हुन्छु, तब मेरो मुखबाट ‘यिनको पोइले अझ एक दुईलाई आँखा लाउन्’ भन्ने खालको विचार कहाँदेखि निम्तिन्छ?

यता डेरामा, दिनहुँ एउटै किनारा पसलमा दूध लिन जाँदा- साहुनीसँग आँखा जुधिरहेको हुन्छ। कथमकदाचित साहु रहेछन् भने त्यो दिनभर मेरो कोठामा साहुनीको सम्झनामा कालो चिया भुक्लुक्क भुक्लुक्क उम्लिरहन्छ। भोलि बिहान जब साहुनी भेटिन्छिन्, दूध सँगसँगै दही पनि बोकेर आउँछु। त्यसपछि मेरो त्यो एक दिन दूध चिया र दही-पानी खाएरै बितिरहेको हुन्छ। न आजसम्म उनीसँग दोहोरो कुरा भएको छ, न उनको नाम-थर सोध्ने हिम्मत आएको छ। तर दूध त्यहीँ गएर लिनुपर्छ मलाई। त्यहीँबाट ल्याएको दूध हालेर बनाएको चिया नै स्वादको लाग्छ मलाई। यो कस्तो सम्बन्ध हो कुन्नि? यसलाई कसरी पो परिभाषित गर्नु?

अब टुङ्ग्याउनीतर्फ लागौँ!

मेरो सामुन्ने एउटा पराल गुथेर बनाइएको गोलाकार ह्याण्डीक्राफ्ट छ, जसको ठेट नेपाली नाम मैले यतिखेर बारबार याद गर्न खोजिरहेको छु तर सकिरहेको छैन।..अँ, याद आयो यसलाई 'ढकिया' भन्ने गरिन्छ। त्यहाँ भर्खरै मेरो आँखा पुग्दा मैले देखेँ, त्यहाँ एउटा ५ युरो सेन्ट छ। जो कहाँदेखि आयो, कुन समयमा आयो? मैले नै ल्याएँ या कोही अरूले ल्याएर छोडिदियो? यी सब प्रश्न यतिखेर जबाफविहीन छन्। 

म सरसर्ती आँखा घुमाउँछु, मेरो सामुन्ने ‘म्यानचेस्टर सिटी’ लेखिएको सेतो रङ्गको कप छ। फूटबल र क्रिकेटबाट म सदैव पर रहेँ, खेलकुदप्रेमी होइन। ती खेलका सामान्य नियम, उस्ताद खेलाडी र प्रमुख घटनाहरू बाहेक अरू कुरासँग मेरो वैचारिक साथसंगत छैन। तर त्यो कप छ, जहाँ करिब दुई वर्ष अगाडी टिस्यु पेपर गुथेर बनाएको एक थुँगा फूल छ- गुलाबी कलरको। झट्ट हेर्दा गुलाबै जस्तो पनि। 

म आँखा घुमाइरहँदा देख्छु, सामुन्ने मानवशास्त्री एवं लेखक डोरबहादुर विष्टको ‘सोताला’ उपन्यास यसै परिरहेको छ। मैले पढ्न भ्याएको छैन। अलि पर, ‘सारकोबेक्स (Sarcobex)’ नाम गरेको औषधीको डिब्बो छ, जसको प्रयोग भइसकेको छ। तर त्यसलाई मैले फ्याँल्न भ्याएको रहेनछु। भनौँ न फ्याँल्नु पर्ने आवश्यकताको खाँचो मैले अहिलेसम्म औँल्याएको रहेनछु।

यस्ता धेरै कुरामा मेरो आँखा परिरहेको छ। सायद ती कुरामा मेरो धेरैपटक नै आँखा परिसकेको पनि हुँदो हो, आज जसरी ती चिजहरूलाई मैले गहिरिएर हेरेको थिइनँ होला। र, सायद ती दिनहरूमा म अन्य केही चीजहरूलाई गहिरिएर हेरिरहेको हुन्थेँ, जो यतिखेर मैले नजरअन्दाज गरिरहेको हुनसक्छु। या यी वस्तुसँग मैले मेरो सम्बद्धगत चिरफार गर्नै भ्याएको थिइनँ। 

आत्मचिन्तन र आध्यात्मिक प्रक्रियामा साधनारत व्यक्तिका कथनअनुसार, 'हाम्रो वरपर भएका सम्पूर्ण भौतिक, आत्मिक, भावनात्मक, विचारात्मक र अन्य अन्य कुराहरू हेर्नको लागि, देख्नको लागि, हामीहरू सक्षम छौँ। उनीहरूबाट केही कुरा छुट्दैन।' म असहमत कदापि छैन। तर यतिखेर जुन सामाजिक मनस्थिति या वैश्विक संरचनामा म आफ्नो मस्तिष्क घुमाइरहेको छ, हृदय चलायमान बनाइरहेको छु, के त्यो सम्भव छ? मलाई सम्भव होइदिए हुने थियो भन्ने लाग्दछ। र, मेरो प्रयत्न पनि यी कुराहरूलाई सम्भव बनाउनु नै रहेनछ। 

मलाई  लाग्छ, जीवनका व्यापकताहरूमा आफ्नो सहभागिता जनाइरहनू पर्दछ। जीवन चाडबाडविहीन छैन, अनुष्ठानविहीन छैन। ‘जलाश्रय र मसानघाटसम्म’को सम्भाव्यताको कथाहरू हामीले सुनेका छौँ। आत्म-हाहाकारजन्य अवस्था यतिखेर मसँग छैन, मुर्छायामन स्थितिमा यतिखेर म छैन। आत्मलाञ्छना यतिखेर म गरिरहेको छैन। तर मेरो आग्रह आफैसँग यति मात्रै रहन्छ- केही समय फुर्सद निकाल्नु पर्छ मैले। र, त्यो फुर्सदीमा बसेर जीवनका हरेक थोक र हरेक घटनाहरूलाई आत्मसाथ गर्नुपर्दछ। नत्र, म पनि त्यो एक हजुरबाउ हुनेछु, जो मानवीयताको कथा दन्त्यकथा भाँती आफ्ना नातिनातिनालाई सुनाइरहेको हुनेछ। आफ्ना नातिनातिनासँगको त्यो पनि एक सम्बन्ध हुनेछ, तर त्यो सम्बन्ध म कदापि चाहन्न। 

एउटा कुरा चाहिँ पक्का छ- सम्बन्धको बिहान हुन्छ, मध्यान्ह हुन्छ, साँझ पर्छ र जून देखिन्छ। फेरी पनि घाम झुल्कियो भने गजब भइहाल्यो। सम्बन्धको यी बामे-सराइहरू अझ घटित हुनेछन्, म समक्ष। ती कुन रूपमा, कुन समयमा म कहाँ आइपुग्नेछन्? तर मेरो चेष्टा रहनेछ कि त्यसबाट म केही सिकौँ। केही जानौँ। एउटा विचार या सिद्धान्तमा रमाएर बस्दा अर्को विचार बोकेर आइपुगेको व्यक्ति म नजिकैबाट किनारा लागेको छ। र, म ऊसँगको साथसंगत र उसको विचार मन्थनबाट कहीँ पर हुत्तिन पुग्दो रहेछु। पुगिरहेको छु।

मलाई यतिखेर लागिरहेको छ, सम्बन्ध भनेको सडकमा हिँडेको जस्तो होइन। दुई किनारा, दुई पहेँला धर्साबीच सतर्कतासाथ। सम्बन्ध साँघुरो गोरेटोको हिँडाई रहेछ, जहाँ तलमाथि होइराख्छ। कहिले कसलाई बाटो छोडिदियो, कहिले कसले बाटो छोडिदिन्छ। यसक्रममा उसको पसिना मैले सुँघ्न पाउ, मेरो पाखुराको रौँ उसको महसुस गरोस्। यसक्रममा पो हामी नजिक नजिक हुँदै जाँदा हौँ, परस्पर सम्बन्ध बन्दै जाँदो हो। 

सम्बन्ध मानौँ कुनै खेल हो, जहाँ दुवै व्यक्ति सहभागी हुन्छन्। र, दुवैले जित्छन्। यो यस्तो खेल हो, जहाँ कसैले कहिल्यै हार्दैन। जहाँ कुनै पनि किसिमको मानिसक भेदभाव रहँदैन, दमनको लसपस हुँदैन। त्यो पो सम्बन्ध, त्यो पो एक उदाहरण। 

जीवन र मृत्यु दुवै संस्कार यति महँगा र असजिला बनेका छन्, यसबीच सहजता खोज्ने ध्येय न हो, सम्बन्ध। यसबीच आफ्नोपन महसुस गर्ने चेष्टा न हो, सम्बन्ध। हल्लिएको दाँत त एकदिन फुस्कन्छ भने जिन्दगीका दुःखहरू कसो एकदिन नफुक्लेलान्? बस, सम्बन्धहरूमा मृदुल रहिरहुन्। सुकुमार्य रहिरहुन्।

जिन्दगीका तमाम दुःखहरू त यसै पनि छचल्किरहेकै छन्!.. उसै पनि छचल्किरहनेछन्।

यो पनि पढ्नुहोस

 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update