
काठमाडौं - सरस्वती क्याम्पसका अनेरास्ववियूका निवर्तमान अध्यक्ष राम बहादुर मल्लसहित २० जनाले एकीकृत समाजवादी परित्याग गरेका छन् । पार्टीले अनेरास्ववियू सरस्वती क्याम्पस कमिटीको अधिवेशनमा अनावश्यक हस्तक्षेप गरेको भन्दै उनीहरूले समाजवादी परित्याग गरेका हुन् ।
साउन ९ गते अनेरास्ववियू सरस्वती क्याम्पस कमिटीको १८ औं सम्मेलन उद्घाटन सत्रपछि बन्दसत्रमा क्याम्पस कमिटीभन्दा बाहिरका असंगठित विद्यार्थीहरुलाई बन्दसत्र चलिरहेको हलमा प्रवेश गराएको, संगठनको विधि, विधान, सिद्धान्त र पद्धति मिचेर संगठन बाहिरका विद्यार्थीहरुलाई प्रतिनिधि फाराम भरनएर प्रतिनिधि बनाउने घृणित कार्य गरेको उनीहरूको आरोप छ ।
आज मल्ललगायतका विद्यार्थीहरूले एक विज्ञप्ति जारी गर्दै विवादै नभएको संठगनमा अनावश्यक विवाद झिकेर संगठनलाई एकहप्तासम्म अनिर्णयको बन्दी बनाउने कार्य गरेको उल्लेख गरेका छन् ।
संगठनमा लामो समय योगदान गरेका, संगठनको लागि रगत पसिना बगाएका, आफ्नो जीवनको उर्वर समय संगठनमा बिताएका र संगठनलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नु भएका कमरेडहरुलाई पाखा लगाउने काम सह्य नभएको उनीहरूको निष्कर्ष छ ।
‘अन्यायपूर्ण र पक्षपातपूर्ण निर्णयको विपक्षमा उभिदै अनेरास्ववियू सरस्वती क्याम्पस कमिटीका निवर्तमान अध्यक्ष सहित विभिन्न जिम्मेवारी वहन गरिसक्नु भएका साथीहरुले नेकपा (एकीकृत समाजवादी ) निकट अनेरास्ववियूको साधारण सदस्य समेत नरहने गरी सामूहिक रुपमा संगठन परित्याग गरेको घोषणा गरेका छौं’, विज्ञप्तिमा भनिएको छ ।
अनेरास्ववियू केन्द्रीय कमिटीका उपाध्यक्ष कल्याण दाहालले संगठनमा अनावश्यक हस्तक्षेप गरेर अन्याय पूर्ण निर्णय गरेको उनीहरुले बताएका छन् ।