 
                                                    नुवाकोट - नेपालको ऊर्जा इतिहासको एक अभिन्न अंग बनेको त्रिशुली विद्युत् गृहले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यो राष्ट्रिय आत्मनिर्भरता र ऐतिहासिक सम्बन्धको प्रतीकका रूपमा समेत स्थापित भएको छ।
विक्रम संवत् २०२३ फाल्गुन २२ गते, तत्कालीन राजा महेन्द्रबाट त्रिशुली जलविद्युत् आयोजना समुद्घाटन गरिएको थियो। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २१ मेगावाट क्षमतामा निर्माण भएको यो आयोजना नेपाल–भारत मित्रताको एउटा ज्वलन्त उदाहरण हो। यो आयोजना नेपालकै पहिलो २० मेगावाटभन्दा माथिको जलविद्युत् आयोजना थियो। जसले आधुनिक ऊर्जा उत्पादनको युग आरम्भ गर्यो।
 
नुवाकोटको विदुर नगरपालिका–१ मा रहेको यो आयोजना ‘रन अफ द रिभर’ प्रकारको जलविद्युत् आयोजना हो । जसमा फ्रान्सिस टर्बाइन को प्रयोग गरिएको छ। हाल आयोजनाबाट सात वटा युनिटमार्फत २४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । जहाँ प्रत्येक युनिटको क्षमता ३ मेगावाट रहेको छ।
विद्युत उत्पादनका लागि यहाँको हेड ५१ मिटर रहेको छ भने डिस्चार्ज १८०० देखि १९०० लिटर/सेकेन्ड सम्मको प्रवाह हुन्छ। टर्बाइनहरू होरिजेन्टल (तेस्रो) राखिएका छन्, जुन प्रविधि नेपालमा दुर्लभ मानिन्छ । सामान्यतया भर्टिकल (ठाडो) राख्ने चलन रहेको भए पनि यहाँको छुट्टै विशिष्टता यहीँ हो।
पानी ल्याउने संरचना र ड्याम
त्रिशुली आयोजनाको सशक्त पक्ष भनेकै यसको सुव्यवस्थित पानी ल्याउने प्रणाली हो। लगभग  ५.७७ देखि ६ किलोमिटर टाढाबाट पानी ल्याइन्छ । जसका लागि २ वटा विशिष्ट पुलहरू निर्माण गरिएका छन् । १ नं. पुल (१४१ मिटर) र २ नं. पुल(२५० मिटर)  ।
यस आयोजनामा उल्लेखनीय संरचना हो, सिल्ट्यांकी ड्याम । करिब १ किलोमिटर क्षेत्रमा फैलिएको यो ड्याम तुप्चे ड्याम देखि २ नं. पुल सम्मको जलप्रवाहलाई नियन्त्रण गर्दै पानीलाई इन्टेक ड्यामतर्फ पठाउँछ।
ड्याम क्षेत्रलाई अन्डरग्राउन्ड प्रणालीद्वारा इन्टेकमा ल्याइन्छ। जसमा माथि तुप्चे ड्याम देखि ४०० मिटर अन्डरग्राउन्ड प्रणालीद्वारा पानी सिल्ट्यांकी ड्याम सम्म आइपुग्छ र करिब १ किलोमिटर सुरुङ प्रणालीबाट पानी सिल्ट्यांकी ड्यामबाट इन्टेक ड्याम पुग्छ।
हेर्नुहोस् तस्विरहरु :
 
 
 
 
 
 
 
 


 
                     
                     
                     
                     
                     
                    