
काठमाडौं - हावाहुरीका कारण कपिलवस्तु र नवलपरासीमा तीन जनाको मृत्यु भएको छ।
शुक्रबार हावाहुरीले रूख र प्रतीक्षालय ढल्दा नवलपरासीको सुनवलमा दुई जना र कपिलवस्तुमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ७ चारपाला बस्ने अन्दाजी ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गा बहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
हावाहुरीका कारण बाटोको साइडमा रहेको कंक्रिटको सिमेन्ट र रडबाट निर्मित प्रतीक्षालय माथि बर्रोको रूख ढलेर प्रतीक्षालय भत्किँदा उक्त घटना भएको हो।
उक्त घटनामा परी स्थानीय ४० वर्षीया नरमति परियार, ५१ वर्षीय दुर्गेश्वरा खाम्चा मगर र २२ वर्षीय अनिल थापा घाइते भएका छन्। घाइते तीनै जनाको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए।
उनीहरुको रुपन्देहीको भलुहीस्थित देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ।
यस्तै, कपिलवस्तु नगरपालिका वडा नम्बर ८ मैनिहवामा आँपको रूख ढलेर च्यापिँदा बालिकाको मृत्यु भएको छ।
हावाहुरीका कारण आँपको रूख ढलेर च्यापिँदा स्थानीय १४ वर्षीय सुखना केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हावाहुरी चलेपछि भुइँमा झरेका आँप टिप्न गएकी सुखनाको सोही आँपको रूख ढल्दा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।
गम्भीर घाइते भएकी सुखनाको जिल्ला अस्पताल तौलिहवामा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।