
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्वपूर्ण विशिष्टता रहेको बताएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान मक्का मदिनामा यस वर्ष हज गर्न जान लागेका हजयात्रीलाई शुभकामना दिने क्रममा उनले सो धारणा व्यक्त गरेका हुन् ।
‘विविध जातजाति, समुदाय, भाषाभाषी, संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवद्र्धनका लागि सबै एकसाथ मिलेर लाग्न र यसकै माध्यमबाट आपसमा भाइचारा, मित्रता र सद्भाव बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन आवश्यक छ, हजयात्राले यसमा ठूलो योगदान दिने विश्वासका साथ तपाईंहरूको यात्रा सफलताको पुनः शुभकामना व्यक्त गर्दछु’, उनले भने ।
उनले परापुर्वकालदेखि नै नेपाल राज्य निर्माणमा यो समुदायको महत्वपूर्ण योगदान रहेको बताए । ‘पवित्र आस्था र विश्वास बोकेर जाने हजयात्रीहरूको सहजताका लागि सबै खालको सुविधा उपलब्ध गराउन सम्बन्धित् निकायले ध्यान दिनेनै छ भन्ने मैंले विश्वास लिएको छु, हज कार्यलाई व्यवस्थितरुपबाट सञ्चालन गर्न समयानुकुल आवश्यक नीति, नियम र प्रवन्ध मिलाउनुपर्नेतर्फ सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छु’, राष्ट्रपति पौडेलले भने ।
सो असवरमा राष्ट्रपति पौडेलले हजयात्रीलाई गम्छा र टोपी लगाएर शुभकामना दिएका थिए । मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहमुद्धिन मियाँले राष्ट्रपतिबाट पहिलो पटक यसरी हजयात्रीलाई हजयात्राको लागि राष्ट्रपति भवनमा शुभकामना सहित बिदाइ गरिनु गौरवको विषय भएको बताए ।