Harsamaya
नेपालीले क्याम्ब्रिज एवं अक्सफोर्डमा पिएचडी गर्न पाउनु गौरव हो : बेलायती राजदूत
बेलायती राजदूत रोब फेन ।

काठमाडौं - नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपाली युवा इन्जिनियरिङको करियरमा प्रोत्साहित गर्न पाउँदा खुसी लागेको बताएका छन् । 

बुधबार पुलचोक क्याम्पस वास्तुकला विभागको दोस्रो शैक्षिक उत्कृष्टता पुरस्कार वितरण कार्यक्रममा उनले सबै प्रकारका भौगोलिक चुनौतीहरू भएको नेपाल जस्तो देशमा इन्जिनियरिङभन्दा महत्त्वपूर्ण विषय अरू नभएको भन्दै यस्तो कार्यक्रमको हिस्सा बन्न पाउँदा खुसी लागेको बताए । 

उनले भने, ‘द्विपक्षीय सम्बन्धको एक हिस्सा बन्न पाउँदा र राजदूतको रूपमा, म पनि यहाँ हुन पाउँदा खुसी छु । धेरै गर्व गर्छु । नेपाली युवा इन्जिनियरिङको करियरमा प्रोत्साहित गर्न पाउँदा खुसी छु । सबै प्रकारका भौगोलिक चुनौतीहरू भएको नेपाल जस्तो देशमा इन्जिनियरिङ योभन्दा महत्त्वपूर्ण अरू केही हुन सक्दैन । म यस परिदृश्यमा इन्जिनियरहरूको प्रशंसा गर्छु । मलाई वास्तुकला धेरै मन पर्छ, तर मसँग त्यस्तो कुनै प्रतिभा छैन ।’

यस्तै, उनले बेलायती सरकारले नेपालको शिक्षा मन्त्रालयसँग सार्वजनिक क्षेत्रमा काम गर्न धेरै समय बिताएको भन्दै शिक्षा सचिव अर्को हप्ता बेलायत भ्रमणमा जान लागेको उल्लेख गरे । 

सोही क्रममा, सुबोध फाउन्डेसन युकेका अध्यक्ष इन्जिनियर सुबोध तिमिल्सिनाले पहिले जुन कठिनाइ थियो, त्यो कठिनाइ आजको समयमा नभएको भन्दै यस्तो मान्यता र पुरस्कारले विद्यार्थीहरूलाई प्रेरणा दिने बताए । 

नेपालबाट इन्जिनियरहरू उत्पादन गरेर उनीहरूलाई बेलायतमा मास्टरको भूमिकामा पु¥याउनु र अन्तमा क्याम्ब्रिज, अक्सफोर्डमा पिएचडी गर्ने ठाउँसम्म पु¥याउनु अझै चुनौतीपूर्ण भएको उनको भनाई छ । 

उनले भने, ‘मलाई पहिले जुन कठिनाइ थियो, त्यो कठिनाइ कसैले भोग्न नपरोस् त्यसैले, यस्ता मान्यता र पुरस्कारले प्रेरणा दिन्छ । पुरस्कार दिनु ठुलो कुरा होइन, तर पनि यो एक सुरुवात बिन्दु हो । अझ चुनौतीपूर्ण कुरा के हो भने नेपालबाट इन्जिनियरहरू उत्पादन गर्नु र उनीहरूलाई बेलायतमा मास्टरको भूमिकामा पु¥याउनु र अन्तत क्याम्ब्रिज एवं अक्सफोर्डमा पिएचडी गर्नु गौरवको विषय हो ।’

यस्तै, इन्स्टिच्युट अफ इन्जिनियरिङका डीन प्राध्यापक डा सुशील बज्राचार्यले अवार्ड पाउने सबै विद्यार्थीहरूलाई बधाई दिँदै शैक्षिक पुरस्कारको सुरुवात गरेको सुबोध फाउन्डेसनलाई धन्यवाद दिएका छन् ।  कार्यक्रममा वास्तुकलामा स्नातक, थेसिस टपर कृपा तिम्सिना, वास्तुकलामा स्नातक, ब्याच टपर रश्मी गौतम, ऊर्जा–कुशल भवनहरूमा एमएससी थेसिस टपर प्रसिद्धि हमाल, शहरी योजनामा एमएससी, थेसिस टपर प्रबल दाहाल, शहरी योजनामा एमएससी, ब्याच टपर प्रबल दाहाल, मास्टर अफ आर्किटेक्चरका थेसिस टपर आशिष विक, मास्टर अफ आर्किटेक्चरका ब्याच टपर स्वोस्तिना रञ्जितलाई पुरस्कृत गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update