Harsamaya
इन्द्रावतीमा कडाइ गरेका दुलालको मन्त्रालय सरुवा, मनहरि बराल आउँदै
इन्द्रावती गाउँपालिका ।

सिन्धुपाल्चोक - दुई वर्षअघि प्रमुख प्रशासकीय अधिकृतका रूपमा इन्द्रावती गाउँपालिकामा आएका पूर्ण प्रसाद दुलाल हालै सरुवा भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेका छन्। दुलाल २०८० साल असोज २१ गते इन्द्रावती आएका थिए।

कडा र हक्की स्वभावका दुलालले कार्यकालभर प्रशासनिक कडाइ गर्दै कर्मचारी अनुशासनमा उल्लेखनीय परिवर्तन ल्याएका थिए। उनले कार्यालय समयमा अनिवार्य पोशाकमा उपस्थित हुनुपर्ने निर्देशन जारी गरेपछि कर्मचारी नियमित रूपमा पोशाकमै कार्यालय आउने क्रम बढेको थियो।

दुलालले योजना कार्यान्वयनमा पनि कडाइ गरे। आयोजनामा अनियमितता देखिएपछि उनले निगरानी कडा पारेका थिए, जसको परिणामस्वरूप गुणस्तरीय संरचना निर्माण भएको स्थानीयको भनाइ छ।

उनकै पहलमा इन्द्रावती गाउँपालिकामा ई-हाजिरी प्रणाली लागू गरिएको थियो, जसले कर्मचारी उपस्थिति र जवाफदेहिता थप पारदर्शी बनाएको थियो। यसअघि मेलम्ची नगरपालिकामा कार्यकारी अधिकृतका रूपमा कार्य गरेका दुलालले त्यहाँ पनि सामाजिक र पूर्वाधार विकासमा सक्रिय भूमिका खेलेका थिए।

उनको प्रशासनिक दक्षता, कडाइपूर्ण कार्यशैली र नेतृत्व क्षमताले स्थानीय तहको सेवा प्रवाह, पूर्वाधार विकास र सामाजिक रूपान्तरणमा सकारात्मक प्रभाव पारेको जनाइएको छ।

अब इन्द्रावतीमा नया प्रमुख प्रशासकीय अधिकृतको रूपमा मनहरी बराल आउँदै छन् । उनी जेठ १ गते पालिकामा हाजिर हुनेछन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update