Harsamaya
पाकिस्तानसँगको युद्ध विराम अस्थायी, आतङ्ककारी हमला दोहोरिए कडा जवाफ दिने चेतावनी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।

भारत - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानसँगको युद्ध विराम अस्थायी भएको बताउँदै आतङ्ककारी हमला दोहोरिएमा कडा जवाफ दिने चेतावनी दिएका छन् । 

सोमबार राति ८ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले अबको पाकिस्तानी कदम हेरेर आगामी कार्यक्रम तय हुने बताए । ‘पाकिस्तानको आग्रहमा भारतले कारबाही स्थगित गरेको हो, तर यो स्थगन मात्रै हो। यदि फेरि आतङ्ककारी साहस देखाइयो भने भारतले अझ कडा जवाफ दिनेछ,’ मोदीले भने। 

उनले ‘अपरेशन सिन्दूर’ मार्फत सय भन्दा बढी आतङ्ककारी मारिएको उल्लेख गर्दै आतङ्कवाद र वार्ता सँगसँगै नहुने प्रष्ट्याए। “पानी र रगत एउटै धारामा बग्न सक्दैन। आतङ्कवादप्रति शून्य सहिष्णुता नै विश्व शान्तिको बाटो हो,’उनले थपे। 

आक्रमणमा मारिएका आतङ्ककारीहरूको शवयात्रामा पाकिस्तानी सेनाका अधिकारी सरिक भएको आरोप लाउँदै मोदीले राज्य प्रायोजित आतङ्कवादको नमुना त्यै भएको दाबी गरे ।  युद्धका हरेक मोर्चामा पाकिस्तानलाई धुलो चटाएको समेत उनको दाबी छ । 

‘अपरेशन सिन्दूर’ लाई ऐतिहासिक ठहर गर्दै मोदीले ‘मेड इन इन्डिया’ हतियारले आधुनिक युद्धमा भारतको श्रेष्ठता प्रमाणित गरेको बताए। “हाम्रा घरेलु हतियारले २१औँ शताब्दीको युद्धको परिभाषा फेरेको छ,” उनले भने।

भारतीय सेना र देशवासीको एकताको प्रशंसा गर्दै उनले शान्तिका लागि शक्तिशाली भारत आवश्यक रहेको बताए। पाकिस्तानसँगको वार्तामा पाकिस्तानको कब्जाको कश्मीर र आतङ्कवादबाहेक अरुमा नहुने भन्दै मोदीले “शान्तिको बाटो शक्तिबाटै सुनिश्चित हुन्छ। आवश्यक परेमा यो शक्ति प्रयोग गर्न पछि नहट्ने चेतावनी दिए । 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ०८:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update