
सिन्धुपाल्चोक - नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्का सिन्धुपाल्चोक आउँदैछन् । २०७८ असार र त्यसपछि आएको बाढीले मेलम्ची, हेलम्बु र इन्द्रावती क्षेत्रमा पुर्याएको क्षतिको पुनर्निर्माण र संरक्षणका लागि स्थलगत निरीक्षण गर्न खड्का मेलम्ची आउन लागेका हुन् ।
पूर्वमन्त्री तथा उक्त क्षेत्रका सांसद मोहनबहादुर बस्नेतले खड्कालाई सो क्षेत्रको पूर्निनर्माण र संरक्षणका लागि स्थलगत निरीक्षण गर्न ल्याउन लागेका हुन् । खड्कासँगै उर्जा राज्यमन्त्री खम बहादुर गर्बुजा, विभागीय सचिव र महानिर्देशकहरू सिन्धुपालचोक जाँदैछन् । सिन्धुपाल्चोकको चार स्थानमा मन्त्रीहरूले अनुगमन तथा निरिक्षण गर्नेछन् ।
बिहान ९ बजे भीमटारमा सिँचाइ कुलो निर्माणका लागि अनुगमनको कार्यक्रम रहेको बस्नेतको सचिवालयले जनाएको छ । महादेवटार हुँदै तल्लो भीमटारको २४ किलोमिटरको सिँचाइ परियोजना अनुगमनको कार्यक्रम भीमटारमा हुँदैछ । भीमटार कृषिका लागि उर्वर भएपनि त्यहाँ सिँचाइको अभाव छ ।
यस्तै १०: ३० बजे मेलम्ची बजार, दिउँसो १२:३० बजे ग्याल्थुम बजार र दिउँसो १:३० बजे किउल बजारमा कार्यक्रमहरू रहेका छन् ।