Harsamaya
परराष्ट्र र श्रम मन्त्रालयले काम नै गर्न सकेनन् : ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाही ।

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकारको परराष्ट्र र श्रम मन्त्रालयले पछिल्लो समय कुनै काम नगरेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै उनले नेपाली युवाहरू विदेशमा बन्धक हुँदा पनि मन्त्रालय मौन बसेको भन्दै यस्तो बताएका हुन् । 

‘हामी नेपाली नपुगेको कुनै देशका सहर छैन, झण्डै ८० लाख युवाहरू अर्काको देशमा काम गर्न बाध्य छन् । श्रम, परराष्ट्र मन्त्रालय मौन भएर बसेका छन् । नेपालीहरू बन्धक हुँदा पनि श्रम मन्त्रालयले काम गरेको छैन,’उनले भने । 

उनले विदेशी भूमिको युद्धहरू नेपालीहरू पटक-पटक मर्नु पर्दा पनि श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय मौन भएको बताए ।   

उनले भने, ‘पछिल्लो पटक भारत र पाकिस्तानको युद्धमा पनि नेपाली नै मरे, रुस र युक्रेनको युद्ध भयो । नेपाली नै मरे । प्यालेस्टाइन र इजराइलको युद्धमा पनि नेपाली नै मरे । यो कस्तो गरिबी हो यो कस्तो बेरोजगारी हो । सरकार मौन छ ।’

उनले विदेशमा बसेकाहरूले पठाएको रेमिट्यान्सले नै सांसदहरू, प्रधानमन्त्री, मन्त्री, कर्मचारीहरूले तलव पाएको भन्दै नुनको सोझो गर्नुपर्ने बताए । 

‘आज हामी संसदहरु, प्रधानमन्त्री, मन्त्री, कर्मचारी सबैको तलब विदेशमा बसेकाहरूले पठाएको रेमिट्यान्सबाट प्राप्त भएको छ । हामीले नुनको सोझो गर्नुपर्छ नि पर्दैन र । यहाँ श्रम र परराष्ट्र मन्त्रालय छ तर आज कति नेपालीहरू ठगीमा परेका छन् । यदी मन्त्रालयको काम हुँदैन भने मन्त्रालयको काम छैन,’उनले भने । 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update