
काठमाडौं - भारत र पाकिस्तानबीच बढेको तनावमा नेपालले गहिरो चिन्ता व्यक्त गरेको छ । भारतले पाकिस्तानी भूमिमा गएर हवाई आक्रमण गरेको ४२ घण्टापछि विज्ञप्ति निकाल्दै नेपालले यस्तो बताएको हो ।
परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै भारतको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढेको भन्दै यस्तो अवस्थाको समाधान खोजिनुपर्ने बताएको हो ।
उक्त आक्रमणमा एक नेपाली नागरिक सुदिप न्यौपानेकोसमेत मृत्यु भएको थियो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ – यस दुःखद समयमा नेपाल र भारत एकतामा उभिएर यो पीडामा एकताबद्ध हुनुपर्छ ।
साथै नेपालले सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडानलाई कायम राख्दै यो बर्बर आतंकवादी आक्रमणको तुरुन्तै र स्पष्ट रूपमा निन्दा गरेको पनि मन्त्रालयले जनाएको छ ।