-1739799408.png)
काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा पोखरामा आयोजित भेलालाई बिहीबार सम्बोधन गर्दै पोखरेलले पार्टीलाई राष्ट्रिय शक्ति बनाउन युवाको महत्वपूर्ण भूमिका हुने बताए ।
‘एमालेलाई निर्णायक शक्ति बनाउने सामर्थ्य कोहीसँग छ भने त्यो ४० वर्ष मुनिका युवासँग छ’, उनले भने ।
४० वर्ष मुनिका युवालाई आरक्षणको विशेष व्यवस्था गर्ने पार्टी नेकपा एमाले नै भएको उनले दाबी गरे । पार्टीको वडादेखि केन्द्रसम्म ४० वर्ष मुनिका युवालाई आरक्षण गर्ने काम नेकपा एमालेले गरेको पोखरेलले बताए ।
अबको पार्टी कामको दिशा युवाको बीचमा पार्टीलाई लैजाने भएको उनले जनाए । देशका मतदाताको ठूलो हिस्सा युवा भएकोले युवाको बीचमा पार्टी जानु पर्ने उनको धारणा छ । युवा परिचालनको विशेष योजना बनाएर काम गर्नुपर्नेमा उनले जोडसमेत दिएका छन् ।
उनले पार्टीको पक्षमा निष्ठाका साथ उभिन पनि नेताहरूलाई आग्रह गरे । पार्टीमाथि चौतर्फी आक्रमण भएको बेलो त्यसका विरुद्ध सबै एक ठाउँमा उभिनु पर्ने पोखरेलको धारणा छ ।
नेकपा एमालेलाई पटक पटक विभाजन प्रयास गरिएको बताउँदै उनले ती सबै समस्यासँग जुध्दै एमालेलाई फेरी जनताको रोजाइको सबैभन्दा पहिला पार्टी बनाइएको पोखरेलले जिकिर गरेका छन् । जनताको रोजाइको पहिलो पार्टी भए पनि एक्लै सरकार चलाउन सक्ने सामर्थ्य एमालेले जुटाउन नसकेको उनको भनाइ छ । २०८४ को निर्वाचनमा एमालेलाई एक्लै सरकार चलाउन सक्ने पार्टी बनाउन आवश्यक रहेको उनको धारणा छ ।
अहिले दुईवटा ठूला पार्टी मिलेर मुलुकलाई संकटबाट निकाल्ने प्रयास गरिरहेका पोखरेलले बताए । दुई ठूला पार्टी मिलेपछि देश आर्थिक सञ्चिति र विकासको हिसाबले अघि बढेको पोखरेलले दाबी गरे ।