
काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा पञ्जाब किंग्सले सानदार जित निकालेको छ ।
पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध ३७ रनको जित निकालेको हो । यो जितसँगै पञ्जाब १५ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
प्रभसिमरन सिंहले ४८ बलमा ९१ रन जोड्दा पञ्जाबले पाँच विकेटको क्षतिमा २३६ रन बनाएको थियो । जवाफमा लखनउ सात विकेटको क्षतिमा १९९ रनमा सीमित भयो । लखनउलाई सस्तैमा समेट्न आर्शदीप सिंहले चार ओभर बलिङ गर्दा मात्र १६ रन दिएर महत्त्वपूर्ण तीन विकेट हात पारे ।
जवाफी ब्याटिङका क्रममा २७ रनमा नै तीन विकेट गुमाएको लखनउका लागि आयुस बडानीले सर्वाधिक ७४ रन जोडे । ४० बलको सामना गरेका उनले समान पाँच पाँच चौका र छक्का प्रहार गरे। अब्दुल समादले २४ बलमा ४५ रन जोडे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबका लागि कप्तान श्रेयास ऐयारले २५ बलमा ४५ तथा शशांक सिंहले अविजित रहँदै १५ बलमा ३३ रन जोडे । पन्जाब १५ अङ्कसहित दोस्रो स्थानमा छ । लखनउ भने १० अङ्कसहित सातौं स्थानमा छ ।
आइतबार नै भएको पहिलो खेलमा भने कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई एक रनले पराजित गरेको थियो ।