
ललितपुर - ललितपुर महानगरले पर्यटकलाई लक्षित गरेर पाटन दरबार क्षेत्रमा निर्माण गरेको अत्याधुनिक सार्वजनिक शौचालय संचालनमा आएको छ । उक्त शौचालय आइतबारदेखि संचालनमा आएको हो ।
शौचालय सुरुवातको जानकारी दिन आयोजित कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले विधि र प्रक्रिया पुरा गर्दा गर्दै शौचालय निर्माणका लागि केही समय लागेपनि शौचालय निर्माणको काम सम्पन्न भएको बताए । उनले भने, ‘ हाम्रो सहरको मौलिकता झल्कने गरी शौचालय बनाएका छौं, यो शौचालयले अब आन्तरिक र बाह्य पर्यटकका लागि सहज हुन्छ । ’
पाटन दरबार क्षेत्र घुम्न आउने पर्यटकलाई शौचालय खोज्न भौतारिनु नपर्ने बताए । महानगर प्रमुख महर्जन चिरीबाबु महर्जनले यो शौचालय निर्माण महानगरको मात्रै नभई सम्पूर्ण पालिकाको लागि ‘सो केस प्रोजेक्ट’ भएको बताए । यस अघि पाटन दरबार क्षेत्रमा सार्वजनिक शौचालय भए पनि यहाँको आवश्यकतालाई पूर्ति गर्ने किसिमको थिएन ।
आधुनिक प्रविधिको अपाङगता मैत्री यो शौचालयमा पुरुषको लागि ६ वटा युरेनलसहितको तीन वटा शौचालय, महिलाको लागि ६ वटा शौचालय , १ वटा अपाङगतामैत्री शौचालय , १ वटा स्तनपान कक्ष राखिएको छ । अत्याधुनिक स्यानिटी सामग्री समेत रहेको छ । संस्कृति पर्यटन मन्त्रालयका सचिव बिनोद प्रकाश सिंह आन्तरिक र बाह्य पर्यटकलाई शौचालय निर्माणले सहज बनाएको बताउँदै पुरातात्विक मौलिकतालाई प्राथमिकतामा राख्नु महत्वपूर्ण भएको बताए ।
ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ ऐतिहासिक र पुरातात्विक महत्वलाई ध्यानमा राखेर शौचालयको भवन निर्माण गरेको बताइन् । पर्यटकलाई सुविधा दिदैँ पुरातात्विक महत्व पनि कायम राख्ने गरी महानगरले अत्याधुनिक पर्यटकीय शौचालय निर्माण गरेको बताइन् । महानगरको यो परियोजनासम्पदा र आधुनिकताको समिश्रण युक्त परियोजना भएको बताइन् ।
महानगरका प्रवक्ता राजु महर्जन पूर्वाधार निर्माणका अन्य अवयव मध्ये सार्वजनिक शौचालय पनि एक हो भएको बताए । ललितपुर महानगरको २९ वटा वडामध्ये धेरै वटा वडामा सार्वजनिक शौचालय निर्माण भइरहेको बताए ।
पाटन दरबार क्षेत्रमा अत्याधुनिक शौचालय अत्यावश्यक भएको बताए । उनले भने, ‘शौचालय अति आवश्यक कुरा हो, अब हामी आवश्यकता हेरेर बनाउँछौ । ’ पूर्वाधार निर्माण महाशाखा प्रमुख प्रदीप पौडेलले पब्लिक स्यानिटेसनलाई सुधार गर्नका लागि यो महत्वपूर्ण परियोजना भएको बताए । सम्पदा क्षेत्रको पुरातात्विक मौलिकतामा
ध्यान दिई शौचालयको बाहिरी बनावट काष्ठ कला र चुनासुर्की सहितको मा अप इँटाको प्रयोग भएको छ । शौचालयको छाना झिंगटी टायल सहित दुई पाखे गरी निर्माण गरिएको छ ।
महानगरका अनुसार कुल लागत एक करोड २६ लाखमा शौचालय निर्माण भएको हो ।