
विराटनगर – कोशी प्रदेश सरकारद्वारा आयोजित पहिलो लगानी सम्मेलनमा डेढ खर्बको सम्झौता भएको छ । दुई दिने सम्मेलनमा ४६ परियोजनाका लागि १ खर्ब ५२ अर्ब १९ करोड रुपैयाँको लगानी सम्झौता भएको प्रदेश सरकारले जानकारी दिएको हो ।सम्मेलनमा प्रस्तावित ७१ परियोजनामध्ये आधाभन्दा बढीमा औपचारिक सम्झौता भएको छ ।
सम्मेलनकाे सुरुवातमा प्रस्तावित परियोजनाको प्रस्तावित परियोजनाको लगानी अनुमान १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ गरिएको थियो । सम्मेलनको प्रमुख आकर्षणका रूपमा किल्ड्रिकर म्यानुफ्याक्चरिङ प्लान्ट’ परियोजनामा ३२ अर्ब रुपैयाँ लगानीका लागि सम्झौता भएको छ ।
त्यस्तै, २६ अर्ब रुपैयाँको ’ग्रिन युरिया म्यानुफ्याक्चरिङ फेसिलिटी’ परियोजना, ५ अर्ब ६० करोडको ’एप्रोभोल्टिक सोलार परियोजना’, ४ अर्बका ’बायोइथानोले प्रोजेक्ट’, ३ अर्बको ’इलेक्ट्रिक भेहिकल एसेम्बली प्लान्ट’, १ अर्ब १६ करोडको ’हर्बल प्रोसेसिङ प्लान्ट’ र १ अर्ब ४२ करोडको ’’पाँचखपन हाइड्रोपावर’ परियोजनामा पनि लगानी सम्झौता भएको छ ।
उद्योगी राजेन्द्र राउतले २ अर्ब ४८ करोड रुपैयाँको आरआर इन्टरनेसनल हस्पिटल परियोजनामा लगानी सहमति जनाएका छन् । एक्सेस हस्पिटालिटीले २ अर्ब ३० करोडको पाँचतारे होटेल निर्माणमा लगानी गर्नेछ । यस्तै बराह क्षेत्र केबुलकार परियोजनामा लगानीकर्ता अरुणकुमार सुवेदीले धनकुटा र सुनसरी जोड्ने गरी १६ अर्बको सम्झौता गरेका छन् । उनी मुक्तिनाथ केबलकारका पनि लगानीकर्ता हुन् ।
प्रदेश सरकारका अनुसार रोयल टन होटलमा २ अर्ब ३३ करोड, भेंडेटार एसिया टिक रिसोर्टमा १८ करोड, बर्जुताल टुरिजम प्रोजेक्टमा ४ अर्ब २८ करोड, राजाताल टुरिजम प्रोजेक्टमा ३५ करोड र राजारानी टुरिजम प्रोजेक्टमा २३ करोड लगानी सम्झौता भएको छ । यस्तै देउमाई कफी फार्मिङमा २२ करोड, टर्मरी प्रोडक्सन एन्ड प्रोसेसिङमा १९ करोड, किबी फार्मिङ तथा एग्रो टुरिजममा २५ करोड, प्रेसिडेन्ट एग्रोटेकमा २० करोड र ग्रिन यार्ड एग्रो फार्ममा ४५ करोडको लगानी हुने भएको छ ।