
काठमाडौं - वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्र र हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक हिलाम्मे भएर चिप्लो भएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।
सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि वर्षाका कारण सडक बन्द भएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
त्यसैगरी, गएरातिदेखि परेको वर्षाका कारण बागमती नदीमा आएको बाढीले डाइभर्सन बगाउँदा काठमाडौं–हेटौंडा जाने कान्तिलोकपथ पनि अवरुद्ध भएको छ ।
मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोलामा डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उक्त डाइभर्सन बगाएपछि अज बिहान ६ बजेदेखि नै सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । अहिले प्रहरी टोली खटिएर अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको छ ।