Harsamaya
कक्षा १२ को परीक्षा आजदेखि, जापानमा ३७ जना सहित पाँच लाख बढी परीक्षार्थी सहभागी हुँदै
राष्ट्रिय परीक्षा बोर्ड ।

काठमाडौं - शिक्षक आन्दोलनका कारण स्थगित भएको  कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । आजबाट सुरु परीक्षा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका केन्द्रमा परीक्षाको तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर एक हजार ५ सय ९० र जापानमा एक गरी कुल एक हजार ५ सय ९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । 

परीक्षामा पाँच हजार २ सय २ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८ सय ७५  छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९ सय ०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६ सय १७ जना गरी कुल पाँच लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने अध्यक्ष शर्माले जानकारी दिए । यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौंबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने भएका छन् ।

परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ । परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेकट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update