Harsamaya
कानुन मन्त्रालयले २१४ वटा ऐन बनाई सकेको छ : मन्त्री चौरसिया
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया ।

काठमाडौं - कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानुन मन्त्रालयले २१४ वटा ऐन बनाई सकेको बताएका छन् ।

विधायिकी अन्तरसम्बन्ध र कानुनको मापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले तीनै  तहले आफ्नो आवश्यकता अनुसार कानुन बनाउने कुरा, ऐन बनाउने कुरा संविधानमै तोकिएकोले ती कानुनहरू बनाउन मन्त्रालय सक्रिय रहेको बताएका हुन् ।

उनले भने, ‘तीनै तहले आफ्नो आवश्यकता अनुसार कानुन बनाउने कुरा, ऐन बनाउने कुरा तोकिएको छ । ती कानुनहरू जसमा संघीय कानुनहरूसँग एक अर्काको अधिकारसँग बाझिनु हुँदैन भन्ने कुरा पनि संविधानले व्यवस्था गरेको छ ।  संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध सम्बन्धी कुरा छ ती सम्बन्धमा कानुन बनाउने कुरा छ, ती कानुनहरू कानुन मन्त्रालयले पनि बनाउने कार्य गरिरहेको छ । कानुन मन्त्रालयले संविधान जारी भएपछि २१४ वटा ऐन बनाई सकेको छ । आवश्यकता अनुसार थप कानुनहरू बनाउने व्यवस्थामा हामी लागेका छौं ।’

साथै, उनले कानुन बनाउने कुरामा अब नेपालमा संघले व्यवस्थित ढंगले बनाउनुपर्ने बताए । उनले कानुन बनाउँदा सरोकारवालासँग छलफल गरेर प्रदेश र स्थानीय तह सम्बन्धी कानुन बनाउनुपर्ने  बताए ।  

उनले भने, ‘कानुन बनाउने  कुरा अब नेपालमा संघले व्यवस्थित ढंगले बनाउनुपर्छ । कानुन बनाउँदा सरोकारवालासँग छलफल गरेर प्रदेश सम्बन्धी कानुन बनाउनुपर्यो । अन्तरसम्बन्ध सम्बन्धी कानुन बनाउनुपर्यो, स्थानीय तह सम्बन्धी कानुन केही बनाउनुपर्यो ।’
 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १५:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update