Harsamaya
जम्बो टोली बोकेर नवलपुर जाँदै शेखर कोइराला
नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र केन्द्रीय सदस्यहरू बलबहादुर केसी, उदयशमशेर राणा, योगेन्द्र चौधरी र नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष ओम घर्तीमगर ।

काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला नवलपरासी पूर्व (नवलपुर) जाँदै छन् । नेपाल थारू संघ नवलपुरको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्न कोइराला शनिबार बिहान नवलपुर जान लागेका हुन् । उनीसँगै केन्द्रीय सदस्यहरू बलबहादुर केसी, उदयशमशेर राणा, योगेन्द्र चौधरी र नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष ओम घर्तीमगर पनि नवलपुरको सोही कार्यक्रमका लागि जाँदैछन् ।

कोइरालालाई थारू झाँकीसहित भव्य स्वागत गर्ने तयारी रहेको नवलपुर काँग्रेस कोषाध्यक्ष राजकुमार थारूले बताए ।  दुई दिने कार्यक्रम भएपनि काँग्रेस संसदीय दलको बैठक भएकाले शनिबार साँझै कोइराला काठमाडौं फर्कने कार्यक्रम तय भएको जिल्ला सभापति महेन्द्रध्वज जिसीले  जानकारी दिए । जिसी शेखरनिकट मानिन्छन् । उनी गण्डकी प्रदेश सरकारको मन्त्रीसमेत बनेका थिए । 

१४‌‌औं महाधिवेशनपछि पहिलोपटक कोइराला नवलपुर जान लागेका हुन् । उनको आगमनको खबरले नवलपुर काँग्रेस उत्साहित भएको काँग्रेस नेता कपिल भुसालले बताए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update