
काठमाडौं - राजनीतिक विश्लेषक प्रा डा सुरेन्द्र केसीले कसैले कसैलाई मान्नुपर्छ भन्ने संस्कार हाम्रो देशमा नरहेको बताएका छन् । पृथ्वीपथ विषयक विचार गोष्ठीमा बोल्दै उनले आफ्नो स्वार्थी सिद्ध गर्नेहरूको जय जयकार गर्नुपर्छ, मालामाल हुनुपर्छ भन्ने संस्कृति रहेको बताएका हुन् ।
उनले भने, ‘कुनै नेपाली एक साथमा मिलेर बस्न सक्दैनन् । कुनै दल एक ठाउँमा मिलेर बस्न सक्दैन । कसैले कसैलाई मान्नुपर्छ भन्ने संस्कार नै छैन हाम्रो देशमा । सबै मानिस स्वार्थी छन् । हामीसँग एउटै चेतना छ गुणगान गाउनुपर्छ । मन परेका मान्छे र राम्रा मानिसहरु आफ्नो स्वार्थसिद्ध गर्नेहरुको जय जयकार गर्नुपर्छ । मालामाल हुनुपर्छ, छोराछोरी विदेशमा राख्नुपर्छ । अंग्रेजी बोल्नुपर्छ । यति हो बुझेको ।’
यसैगरी नेकपा एमालेकी पूर्वसांसद गंगा चौधरीले २०७२को संविधान राष्ट्र र राष्ट्रियताको लागि घातक रहेको बताइन् । उनले थारूहरूको आन्दोनलाई राष्ट्रले आतंककारीको संज्ञा दिइयो बताइन् ।
उनले भने, ‘संविधान सभामा हस्तान्तरण गरेकी छैन । म लगायत ५६ जनाले संविधान सभामा हस्तान्तरण गरेका छैनौं । २०७२ को संविधान राष्ट्र र राष्ट्रियताको लागि घातक छ । थारूहरूको आन्दोनलाई राष्ट्रले बुझेको भए आज यस्तो दिन देख्न पर्दैनथ्यो । थारूलाई बिल्ला उडाइयो, आतंककारीको संज्ञा दिइयो तर थारूहरू सबैभन्दा बढि राष्ट्रवादी हुन् । राष्ट्रको लागि छातीमा गोली खान तयार छन् ।’
कार्यक्रममा नेता डा.प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री दिपक लोहनीलगायतले आफ्नो धारणा राखेका थिए ।