
काठमाडाैं - भारतबाट आयात हुँदै आएको ६०० मेगावाट विद्युत्काे समयावधि शनिबार देखि थप गरिएको छ । उक्त निर्णयसँगै अब औद्योगिक क्षेत्रहरूमा दिउँसो ५ बजेसम्म निर्बाध विद्युत् आपूर्ति सुनिश्चित हुने भएको छ । ६०० मेगावाट विद्युत्को समयावधि अब बिहान २ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ । यसअघि यो समय बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म सीमित थियो ।
ऊर्जा मन्त्री दीपक खड्काको प्रत्यक्ष पहलमा नेपाल विद्युत् प्राधिकरण र भारत सर कारबिचको समन्वयबाट यो सहमति कार्यान्वयनमा आएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यका अनुसार भारतको ढल्केबर- मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत आपूर्ति हुँदै आएको छ ।
नदी तथा खोलानालामा पानीको बहाव बढेसँगै देशभित्रै जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भए तापनि, औद्योगिक माग पूरा गर्न भारतबाटको आयात अझै अपरिहार्य रहेको प्राधिकरणको भनाइ छ। मन्त्रालय, प्राधिकरण र मन्त्री खड्काको व्यक्तिगत सक्रियतामा गरिएको यो कूटनीतिक पहलबाट औद्योगिक क्षेत्रलाई सहज रूपमा कार्य सञ्चालन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । नेपाल सरकारले औद्योगिक उत्पादनलाई गति दिन रणनीतिक उपायहरू अपनाउँदै आएको छ ।
नेपाल विद्युत् प्राधिकरणले भारत सरकारप्रति सहयोगका लागि आभार प्रकट गर्दै भविष्यमा ऊर्जा क्षेत्रमा दुई देशबिचको सहकार्य अझ सुदृढ हुने अपेक्षा व्यक्त गरेको छ ।