
सिन्धुपाल्चोक - हालै सिंहदरबार न्युज नामक अनलाइन पोर्टलमा प्रकाशित एक समाचारप्रति इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलालले गम्भीर आपत्ति जनाएका छन्। उनले उक्त समाचारलाई एकपक्षीय, नियोजित र तथ्यहीन भन्दै कडा शब्दमा खण्डन गरेका छन्।
समाचारमा दुलालको नाम र गाउँपालिका अध्यक्षसँगको सम्बन्ध जोडेर सरुवामा अनियमितता र पहुँच प्रयोग गरिएको दाबी गरिएको थियो। तर दुलालले आफ्नो कार्यसम्पादन र सरुवा प्रक्रिया पूर्णतः कानुनी ढंगले भएको दाबी गर्दै, सरुवाको इतिहास रसुवा, धादिङ, काठमाडौं, सिन्धुपाल्चोकलगायतका स्थानहरूमा इमान्दारिताका साथ सेवा पुर्याउँदै आएको स्पष्ट पारेका छन्।
उनले इन्द्रावती गाउँपालिकामा गरिएको उत्कृष्ट कार्यसम्पादनको आधारमा देशभरिका ४६० गाउँपालिकामध्ये दोस्रो स्थान र सम्पूर्ण ७५३ स्थानीय तहहरूमध्ये पाँचौं स्थान हासिल गरेको उपलब्धि पनि उल्लेख गरेका छन्। यसबाहेक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त सम्मानले उनको निष्पक्ष र निष्ठावान सेवाको पुष्टि गर्ने दाबी गरेका छन्।
राजनीतिक पूर्वाग्रह वा पहुँचको प्रयोग भएको आरोपलाई पूर्णरूपमा खण्डन गर्दै उनले आफ्नो कार्यकालमा कुनै पनि राजनीतिक पक्षधरता नदेखाइएको र राजनीतिक तटस्थता कायम राखिएको बताए।
दुलालले समाचार प्रकाशित गर्नु पूर्व सत्य तथ्यको खोज नगरिनु र निराधार आरोप लगाइनु व्यक्तिको व्यक्तिगत मर्यादा र संस्थाको साखमा प्रत्यक्ष असर पर्ने भएकाले खेद प्रकट गरेका छन्।
इमान्दारिताको मूल्य घटाउने दुस्प्रयास नहोस् भन्दै प्रमुख दुलालले सत्यतथ्य उजागर हुनुपर्नेमा जोड दिएका छन्।