
काठमाडौं - सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीका लागि ३४ जनाको संक्षिप्त सूची प्रकाशित गरिएको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित ५ सदस्यीय सिफारिस समितिले दश पदाधीकारीको लागि दुवै आयोगमा एक–एक अध्यक्षसहित पाँच–पाँच पदाधिकारी नियुक्तिका लागि ३४ जनाको संक्षिप्त सूची प्रकाशित गरेको हो ।
उच्च अदालतका पूर्वन्यायाधीशहरू अग्निप्रसाद थपलिया, अच्युतप्रसाद भण्डारी, डिल्लीराज आचार्य, पूर्व मुख्यसचिव लीलादेवी गड्तौला, कानुनका प्राध्यापक विजयसिंह सिजापति, पूर्वनायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले दुवै आयोगका अध्यक्ष वा सदस्यका लागि आवेदन दिएका थिए । सोही अनुसार सिफारिस समितिले उनीहरूको नाम संक्षिप्त सूचीमा समावेश गरेको छ ।
त्यस्तै, पूर्वन्यायाधीश महेश थापा र बारका पूर्वअध्यक्ष शेरबहादुर केसीको नाम सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षका लागि संक्षिप्त सूचीमा समावेश गरिएको छ । यस्तै सिफरिस समितिले सम्भावित पदाधिकारीहरूको संक्षिप्त नामावलीमा परेका व्यक्तिहरूका बारेमा प्रतिक्रिया जनाउन आह्वान समेत गरेको छ ।
प्रतिक्रिया जनाउने समयावधि यही वैशाख २० गते ५ बजेसम्म तय गरिएको छ । सिफारिस समिति समक्ष आइपुग्ने गरी लिखित वा विद्युतीय रूपमा प्रतिक्रिया जनाउन समितिले आह्वान गरेको हो ।