काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार असफल भएको बताएका छन् ।
गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले कांग्रेस–एमाले मिलेर बनेको सरकारले सुशासन कायम गर्न नसकेको बताएका हुन् ।
उनले कांग्रेस सत्तापक्षमा रहेपनि सरकारलाई खबरदारी गर्नुपर्ने उल्लेख गरे । अहिलेको परिदृश्य हेर्दा देशको अवस्था भयावह रहेको उनले बताए ।
कोइरालाले कांग्रेस ठूलो भएपनि अहिले एमाले र कहिले माओवादीको पक्षमा लागेको भन्दै अव त्यसो गर्न नहुने धारणा राखे । उनले कांग्रेसको नेतृत्वमा सबै दललाई मिलाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागी कांग्रेस नेताहरूले मुलुकको परिवर्तनमा गिरिजाप्रसाद कोइरालाले खेल्नुभएको भूमिकाको स्मरण गरेका थिए ।