Harsamaya

भक्तपुर - नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरू अपराधी भएको बताएका छन्। उनले त्यसकारण उनीहरूलाई जनताले कारबाही गर्नुपर्नेमा जोड दिए। 

पार्टीको आठौँ महाधिवेशनको शुक्रबार भक्तपुरमा उदघाटन गर्दै उनले उनीहरूलाई जनताले काठमाडौको टुँडिखेलमा ल्याएर कारबाही गर्नुपर्ने बताए। अध्यक्ष बिजुक्छेंले आफनो पार्टीबाहेक अहिलेसम्म झण्डै सबै पार्टीहरू सरकारमा गएको र अहिलेको यो अवस्था आउनुमा उनीहरू सबै दोषी भएको बताए।

देशमा राजतन्त्र र प्रजातन्त्र वा लोकतान्त्रिक व्यवस्था दशकौं देखेको तर यो व्यवस्थाले जनताको कुनै हित नभएको भन्दै अब समाजवादी व्यवस्थाको अर्को विकल्प नभएको बताए। उनले ऐन कानुनमार्फत् देशद्रोही काम गर्ने सबैलाई कारबाही गर्नुपर्नेमा पनि जोड दिए। 

अधिवेशनमा पार्टी सचिव एवं संघीय सांसद् प्रेम सुवाल, केन्द्रीय सदस्य सुनिल प्रजापतिलगायतका वक्ताहरूले देशमा धेरै कम्युनिष्ट पार्टीहरू रहेको तर उनीहरूमध्ये आफूहरूको पार्टी मात्रै सच्चा कम्युनिष्ट पार्टी भएको दाबी गरे।

आजदेखि सुरु भएको महाधिवेशन फागुन १९ गतेसम्म चल्ने छ। महाधिवेशनका लागि सातै प्रदेशबाट प्रतिनिधि, पर्यवेक्षकहरू तथा कार्यकर्ताहरू सहभागी रहेका पार्टीले जनाएको छ। उद्घाटन अघि काठमाडौं कोटेश्वर, भक्तपुरका विभिन्न पाँच ठाउँहरूबाट छुटाछुटै जुलुस भएको थियो।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १९:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update