Harsamaya

काठमाडौं - नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा पूर्वमन्त्री एवं युवा नेता रोज राणा सर्वसम्मत निर्वाचित भएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देउखुरीको पाखापानीमा सोमबार राति सम्पन्न लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनबाट राणा सर्वसम्मत सभापति चयन भएका हुन्। निर्वाचन समितिले उनलाई सर्वसम्मत निर्वाचित भएको घोषणा गरेको हो।

प्यूठानबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित राणा यसअघि लुम्बिनी प्रदेश सरकारमा दुई पटक मन्त्री बनेका थिए। उनले पहिलो पटक यातायातमन्त्री र दोस्रो पटक सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। यसअघि उनी दुई कार्यकाल प्यूठानको क्षेत्रीय सभापतिसमेत बनेका थिए।

यसअघि सोमबार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन गरेका थिए।

अधिवेशनलाई नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, उमाकान्त चौधरी, मोहनबहादुर बस्नेत, एनपी साउद, डा. प्रकाशशरण महत, रामजनम चौधरी, जीतजंग बस्नेत, रंगमती शाही, लक्ष्मी खतिवडा, भुपेन्द्र राई, केदार कार्की, जीतबहादुर शेरचन र गण्डकी प्रदेश सभापति मेखलाल श्रेष्ठलगायतले सम्बोधन गरेका थिए।

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update