Harsamaya
विधानविपरीत काम गर्ने जनप्रतिनिधिलाई पदबाट हटाउँछौँ : गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा

काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिले विधानविपरीत काम गरे पदबाट हटाउने चेतावनी दिएका छन् । पार्टीको विधान र अनुशासनविपरीत गतिविधि गर्ने जनप्रतिनिधिलाई कारबाही गरिने उनको भनाइ छ ।

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले पार्टीको विधान सबैले पालना गर्नुपर्ने स्पष्ट पारे । उनले अन्य दलमा संलग्न हुने व्यक्तिको कांग्रेस सदस्यता स्वतः कायम नरहने पनि बताए ।

सभापति थापाले पार्टीभित्र असन्तुष्ट रहेका नेताहरूका लागि ढोका खुला रहेको उल्लेख गर्दै पार्टीमा फर्किन चाहनेहरूलाई स्वागत गरिने धारणा राखे ।

उनले निवर्तमान सभापति शेरबहादुर देउवाको योगदानको कदर गर्दै पार्टीभित्र नेतृत्व, पदाधिकारी र कार्यकर्ताको मर्यादा कायम राख्नुपर्नेमा जोड दिए ।

बैठकमा सभापति थापाले वर्तमान सरकारले अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति देखाएको भन्दै आपत्ति जनाए । आफ्नो अनुकूल अध्यादेश ल्याउने र काम पूरा भएपछि प्रतिस्थापन विधेयक नल्याई अध्यादेश निष्क्रिय बनाउने प्रवृत्ति स्थापित गर्न खोजिएको भन्दै कांग्रेस चुप लागेर नबस्ने उनले चेतावनी दिए ।

निर्वाचनबाट प्राप्त जनादेशको सम्मान गर्दै रास्वपालाई पाँच वर्ष सरकार सञ्चालन गर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै थापाले कांग्रेसले सहकार्य र खबरदारीको नीति लिएको बताए । कानुनबमोजिम हुने छानबिन तथा अनुसन्धानमा अवरोध नगर्ने तर राजनीतिक प्रतिद्वन्द्वीलाई कमजोर पार्न वा दबाब दिन राज्यका संयन्त्र दुरुपयोग गरिए कडा प्रतिवाद गर्ने उनको भनाइ थियो ।

सभापति थापाले देशभरका ७५३ वटै पालिकामा १५ दिने अभियान सञ्चालन गरी स्थानीय आवश्यकताअनुसार सामाजिक परियोजनाहरू अघि बढाइने जानकारीसमेत दिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update