Harsamaya
प्रहरी निरीक्षक हुँ भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - प्रहरी निरीक्षक भएको भन्दै एक व्यक्तिलाई मुद्दा नचलाई छुटाइदिने प्रलोभन देखाएर दुई लाख रुपैयाँ माग गर्ने पाँच जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मंसिर १० गते दिउँसो करिब २ बजे एक व्यक्तिलाई प्रहरी प्रभाग काँडाघारीमा सोधपुछका लागि बोलाइएको थियो । ती व्यक्तिका भाइ भेट्न जाँदा त्यहाँ रहेका केही व्यक्तिले आफू प्रहरी निरीक्षक भएको बताउँदै उनका दाजुलाई मुद्दा नचलाई छुटाइदिने भन्दै दुई लाख रुपैयाँ माग गरेका थिए ।

उनीहरूले दुई लाख रुपैयाँको व्यवस्था गरेमा दाजुलाई छुटाइदिने भन्दै होटलको खर्चसमेत तिर्न लगाएका थिए । तर, माग गरिएको रकम तिर्न अस्वीकार गरेपछि फोन तथा सन्देशमार्फत विभिन्न किसिमका धम्की दिँदै मानसिक र आर्थिक तनाव दिएको भन्दै प्रहरीमा सूचना पुगेको थियो ।

सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित वीरेन्द्र चोकबाट घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२ घर भई हाल काठमाडौँको चाबहिल बस्ने ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका–१ घर भई कपन बस्ने २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाको तानसेन नगरपालिका–६ घर भई हात्तीडाँडा बस्ने ३३ वर्षीय धिरज रानाभाट रहेका छन् ।

त्यस्तै, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भई भक्तपुरको दुवाकोट बस्ने २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीको मरिण गाउँपालिका–२ घर भई काभ्रेपलाञ्चोकको बनेपा बस्ने ३० वर्षीय हर्कसिंह भोलन पनि पक्राउ परेका छन् ।

उनीहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत घटनाबारे जानकारी दिएको हो ।

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update