Harsamaya
ब्राउन सुगरसहित मोटरसाइकलमा सवार दुई जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सुनसरी - सुनसरीको रामधुनी नगरपालिका–५ झुम्का बजारबाट प्रहरीले ब्राउन सुगर र मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मंसिर १२ गते साँझ करिब ६ बजे झुम्का बजार क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीले सडकछेउमा प्रदेश १–०२–०५५ प ४९०६ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई शंकाका आधारमा खानतलासी तथा जाँच गरेको थियो ।

जाँचका क्रममा मोटरसाइकलमा सवार सुनसरीको इनरुवा नगरपालिका–३ बस्ने ३९ वर्षीय अमित अधिकारी र २४ वर्षीय रोहन पौडेलको साथबाट ब्राउन सुगरजस्तो देखिने १४.०७ ग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूलाई उक्त लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पकलीमा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत घटनाबारे जानकारी दिएको हो ।

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update