Harsamaya
पथलैयामा २३७ किलोभन्दा बढी गाँजासहित गाडी बरामद, चालक फरार
सांकेतिक तस्वीर: हर समय/Har Samaya

बारा - बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोस्ट नजिकबाट प्रहरीले २३७ किलोभन्दा बढी अवैध लागुऔषध गाँजासहित एउटा गाडी बरामद गरेको छ ।

मंसिर १२ गते साँझ करिब ५ः४० बजे अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीलाई शंका लागेर प्रहरीले जाँच गर्न खोजेको थियो । तर, चालकले गाडी नरोकी तीव्र गतिमा भगाएका थिए ।

प्रहरी चौकी पथलैया र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले गाडी पछ्याउने क्रममा दुधौरा खोलाको पुलपारि जंगलछेउमा गाडी फेला पारेको थियो । चालकले इन्जिन चालु अवस्थामै गाडी छाडेर फरार भएका थिए ।

प्रहरीले जंगल क्षेत्र घेराबन्दी गरी खोजतलास गर्दा चालक फेला पार्न सकेन । तर, चालक भागेको दिशातर्फ एउटा किप्याड मोबाइल फेला परेको प्रहरीले जनाएको छ ।

गाडी नियन्त्रणमा लिएर जाँच गर्दा पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको २३७.१७ किलोग्राम गाँजा बरामद भएको हो ।

बरामद गाँजासहित गाडी नियन्त्रणमा लिइएको छ भने फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update