Harsamaya
खसीको मासु भन्दै बाख्री र पाठीको मासु बिक्री गर्ने आठ जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा काठमाडौंको टुकुचाबाट आठ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले ५६७ किलो बाख्री तथा पाठीको मासुसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मंसिर १२ गते दिउँसो करिब ४ बजे काठमाडौं महानगरपालिका–२८ स्थित खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री भइरहेको सूचना प्राप्त भएको थियो। उक्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बजारमा पुगेर जाँच गरेको थियो।

जाँचका क्रममा बाख्री तथा पाठीको मासु खसीको मासु भन्दै बिक्री वितरण गर्न लागेको अवस्थामा आठ जनालाई फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूले बिक्रीका लागि तयार पारेको अन्दाजी ५६७ किलो मासु, बा २० च ६३४६ नम्बरको पिकअप गाडी र बा ७६० नम्बरको भ्यानसमेत नियन्त्रणमा लिइएको छ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ का ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सिकोट घर भई टुकुचा बस्ने ३२ वर्षीय करण बानियाँ, ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय मनोज थापा, धादिङको गजुरी गाउँपालिका–२ घर भई काठमाडौंको बागबजार बस्ने २६ वर्षीय सनम तामाङ रहेका छन्।

त्यस्तै, २२ वर्षीय राजु लामा, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका–१ घर भई पुतलीसडक बस्ने २९ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ घर भई काठमाडौंको मैजुबहाल बस्ने २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

पक्राउ परेका आठै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update