जुम्ला - झारफुक गरेर निको पार्ने भन्दै १४ वर्षीया बालिकामाथि अभद्र गतिविधि गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका–१ का अन्दाजी ४६ वर्षीय कालीबहादुर रोकाया छन्। सोही स्थानकी १४ वर्षीया सावित्री रोकायालाई झारफुक गरी निको पार्ने भन्दै गरिएको गतिविधि सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न देखिएका रोकायालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार मंसिर १२ गते दिउँसो करिब १२ बजे प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले रोकायालाई आफ्नै घरबाट नियन्त्रणमा लिएको थियो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जुम्ला ल्याइएको छ।
सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा देखिएको घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाको वास्तविकता र त्यसमा संलग्न पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

