मकवानपुर - मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ गोठभित्तामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय रमेश पाख्रिन छन् । उनले मादक पदार्थ सेवन गरी ३५ वर्षीया श्रीमती रुकु पाख्रिनलाई कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंसिर ११ गते राति करिब ९ बजे श्रीमान्–श्रीमतीबीच झैझगडा भएको सूचना स्थानीयमार्फत प्राप्त भएको थियो। सूचना पाएलगत्तै प्रहरी चौकी फाखेलबाट खटिएको टोलीले घरभित्रै सुत्ने कोठामा रुकुलाई मृत अवस्थामा फेला पारेको थियो।
घटनाबारे मंसिर १२ गते बिहान करिब १०ः३० बजे जानकारी प्राप्त भएपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको थियो। घटनामा संलग्न रहेको आरोपमा रमेशलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

