सिन्धुपाल्चोक - जेनजी आन्दोलनका क्रममा काठमाडौंको केन्द्रीय कारागारबाट फरार भएका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ निवासी ३६ वर्षीय विष्णु तामाङ रहेका छन्। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १० वर्ष कैद सजाय पाएका तामाङ गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित केन्द्रीय कारागार, जगन्नाथदेवलबाट फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार फरार कैदीको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहतका इलाका प्रहरी कार्यालय गोल्छे, यलम्बु र जलवीरेबाट खटिएको प्रहरी टोलीले मङ्सिर ७ गते उनलाई पक्राउ गरेको हो।
प्रहरीले तामाङलाई सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–१ स्थित जलवीरे बजारबाट नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका तामाङलाई बाँकी कैद भुक्तानका लागि मङ्सिर ८ गते कारागार कार्यालय सिन्धुपाल्चोकमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिएका छन्।
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीको खोजी तथा पक्राउ गर्ने अभियानअन्तर्गत प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

