काठमाडौं - काठमाडौंको कलंकीमा धारिलो हतियार देखाएर धम्की दिँदै मोबाइल लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित सडकखण्डमा मंसिर ३ गते बिहान करिब ३ः४२ बजे अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाएर धम्की दिँदै मोबाइल लुटेर फरार भएका थिए ।
घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा कलंकीस्थित बाबा पेट्रोल पम्पनजिकैबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–१ घर भई काठमाडौंको कलंकी बस्ने ३३ वर्षीय राजकुमार श्रेष्ठ, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ घर भएका २८ वर्षीय सागर तामाङ र कास्कीको पोखरा महानगरपालिका घर भएकी २८ वर्षीया सन्ध्या तामाङ रहेका छन् ।
प्रहरीले उनीहरूलाई लुटपाट गरिएका मोबाइलसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका तीनै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

