चितवन - चितवनमा भारतीय कन्टेनरभित्र फल्स बटम बनाएर लुकाइछिपाइ ल्याइएको ४४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
राप्ती नगरपालिका–१ लोथरस्थित प्रहरी चेकिङ पोइन्टमा बिहीबार बिहान प्रहरीले जाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।
मंसिर ४ गते बिहान करिब ९ बजे इलाका प्रहरी कार्यालय भण्डारा र अस्थायी प्रहरी पोस्ट लोथरबाट खटिएको संयुक्त प्रहरी टोलीले हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कन्टेनर (NL 0107792) जाँच गरेको थियो ।
जाँचका क्रममा कन्टेनरको चालक सिटपछाडि रहेको क्याबिनमा फल्स बटम बनाइएको र त्यसैभित्र लुकाएर राखिएको अवस्थामा ४४३ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
गाँजासहित कन्टेनर चालक भारतको वैशाली जिल्ला, चर्खाजेका २४ वर्षीय सत्यम कुमार र सहचालक सोही जिल्लाको बाबन घाटका २० वर्षीय रौनक कुमार पक्राउ परेका छन् ।
पक्राउ परेका दुवै जनामाथि तथा बरामद गाँजाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

