Harsamaya
‘सिभिल प्रहरी हुँ’ भन्दै डान्सबारमा धाकधम्की र अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - आफूलाई सिभिल प्रहरी भएको बताउँदै डान्सबारमा प्रवेश गरी सञ्चालक तथा कर्मचारीसँग विवाद, धाकधम्की र अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–२६ ज्याठास्थित गोल्डेन आइ डान्सबारमा मंसिर ४ गते राति करिब १२ः३० बजे उनीहरूले आफूहरू सिभिल प्रहरी भएको भन्दै क्लबभित्र प्रवेश गरेर सञ्चालक तथा कर्मचारीसँग विवाद गरेका थिए ।

त्यसक्रममा उनीहरूले धाकधम्की दिँदै डरत्रास देखाउनुका साथै अभद्र व्यवहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका–८ घर भई भक्तपुर बस्ने २२ वर्षीय नवराज कुँवर र १८ वर्षीय सुमन तामाङ रहेका छन् ।

उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तीन दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update