Harsamaya
सरकारी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

जुम्ला - जुम्लामा सरकारी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन् ।

मंसिर ४ गते साँझ करिब ६ बजे चन्दननाथ नगरपालिका–६ महतगाउँस्थित सडकखण्डमा जुम्ला बजारबाट तातोपानीतर्फ जाँदै गरेको क १ ब २७३ नम्बरको सरकारी मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट चन्दननाथ नगरपालिका–७ निवासी अन्दाजी ४२ वर्षीय हेमबहादुर महत गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएकोमा चिकित्सकले साँझ ७ बजे मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल जिल्ला प्रहरी कार्यालय जुम्लाको नियन्त्रणमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update